नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताको निक्षेप डुब्ने अवस्था नआउने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६० औ वार्षिक उत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कुनै पनि संस्थामा समस्या आएको खण्डमा पनि राष्ट्र बैंकको जिम्मेबारी भित्र पर्ने भएकाले निक्षेपकर्तालाई अप्ठ्यारो पर्न नदिने बताएका हुन ।
कुनै संस्थामा समस्या आयो भने त्यो जिम्मेवारी राष्ट्र बैंक हुने बताउँदै गभर्नर अधिकारीले भने,“निक्षेपलाई कुनै पनि हालतमा समस्यामा पर्न दिदैनौ । बाहिरका हल्लाका पछाडि लाग्न हुदैन । बैंक वित्तीय संस्थामा उतारचढाव आउँछ त्यो समान्य हो ।” वित्तीय संस्थामा समस्या आएको खण्डमा कसरी व्यवस्थापन गरीन्छ त्यो महत्वपूर्ण हुने उनले बताए । पर्याप्त कर्जा नोक्सानी व्यवस्था भएको हुनाले डराउनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।
“अपठ्यारोमा परेको संस्थाको हकमा गभर्नेन्सको समस्या हो भने कारबाही नै गर्छौ,” उनले भने,“प्रविधिक समस्या आएको हो भने त्यसलाई रिजोलुसन गर्ने उपाय कन्द्रीय बैंकले अवलम्बन गर्छ ।”
केही बैङ्क र वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको पनि बताए । बैंक वित्तीय संस्थालाई नियामकले नजिकबाट हेरिरहेको हुनाले हल्लाको पछाडि नलाग्न समेत सर्वसाधारणलाई आग्रह गरे ।
गभर्नर अधिकारीले विभिन्न आरोह अवरोह पार गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको बताए । साथै उनले राष्ट्रिय वाणिज्य बैंकको पुँजीको विकासको प्रस्ताव प्रति राष्ट्र बैंक उदार रहेको बताए ।
प्रतिक्रिया