विशेष अदालतबाट सफाइ पाएका १४३ मुद्दा विरुद्ध सर्वोच्चमा पुनरावेदन


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षको सात महिनामा विशेष अदालतबाट सफाइ पाएका १४३ मुद्दा विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो । आयोगले माघ ८ गते मात्रै शेषकान्त पौडेल प्रतिवादी कायम गरिएको मुद्दाको सर्वोच्चमा पुनरावेदन दर्ता गराएको छ । एक लाख रुपैयाँ बराबरको भ्रष्टचार गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ ६ गते प्रतिवादी तिल प्रसाद पाण्डेसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेषमा अदालतबाट भएको फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ । ४२ लाख २९ हजार रुपैयाँ बराबरको भ्रष्टचार गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

यस्तै, अख्तियारले प्रतिवादी सुरेन्द्रबहादुर बिष्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको थियो । एक करोड ३४ लाख ९७ हजार रुपैयाँ भ्रष्टचार गरेको आरोपमा अख्तियारले भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्रबहादुर बिष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी विरुद्ध मुद्दा दायर गरेको थियो ।

यस्तै, अख्तियारले असोज १६ गते प्रतिवादी शिवराज सेढाई र ओमशङ्कर प्रसाद रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गराएको थियो । नदीजन्य पदार्थको उत्खनन् तथा बिक्री वितरणको ठेक्का लिए वापत ९९ लाख ९९ हजार रुपैयाँ लिएर काम नगरेको आरोपमा १ करोड ३८ लाख ९९ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो ।

यता, प्रतिवादी जितेन्द्र कुमार चौधरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको थियो ।

३ करोड ९९ लाख रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पती जम्मा गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले आव ०८०\८१ मा अख्तियार ९२ फैसलाउपर पुनरावेदन गएको थियो । त्यसअघि ०७९\८० मा २३७ फैसलामा पुनरावेदन गएको थियो । त्यस्तै, ०७८\७९ मा ५७, ०७७\७८ मा ५८ र ०७६\७७ मा २० फैसलाउपर अख्तियारले पुनरावेदन दर्ता गरेको थियो ।

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार  १४ : ५२ बजे