चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो ।
कार्यालयका प्रमुख ई रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो । यस अवधिमा एक हजार चार सय ५६ जनाले बक्यौता रकम तिरेका छन् । उनीहरुबाट रु दुई करोड ८२ लाख २१ हजार नौ सय १६ राजस्व सङ्कलन भएको छ । प्रमुख श्रेष्ठका अनुसार एक हजार छ सय ६८ जना ग्राहकबाट चार करोड १३ लाख ९५ हजार पाँच सय ६७ रुपैयाँ बक्यौता उठाउन बाँकी थियो । वितरण केन्द्रले पुस मसान्तसम्म दुई सय ८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ ।
उनीहरुबाट एक करोड पाँच लाख ४६ हजार एक सय ८८ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । वितरण केन्द्र प्रमुख श्रेष्ठले भने “नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियम अनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ ।”
भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन् । यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन् ।
प्रतिक्रिया