सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल


सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भइ प्रतिनिधिसभामा आएका विधेयकबारे प्रमुख सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा (एमाले)सँग छलफल गरेका छन् । सभामुख घिमिरेले आज कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आमन्त्रण प्रतिनिधिसभामा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा माग गरेका हुन ।
“सभामुखले राष्ट्रियसभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिमै अड्किएका अन्य विधेयकबारे धारणा माग गर्नुभएको छ, त्यसबारेमा पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्नेगरी आजको छलफल टुङ्गिएको छ”, कांगे्रस प्रमुख सचेतक घिमिरेले भने । एमाले प्रमुख सचेतक बर्तौलाले भने संसद्मा विचाराधीन सबै विधेयक अघि बढ्ने बताएका थिए ।
संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गरिएको छ । संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख घिमिरेले आफ्नो सक्रियता बढाएका छन । । सभामुख घिमिरेले आजै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकसँग छलफल गर्नेछन ।

प्रकाशित मिति: १३ माघ २०८१, आइतबार  १४ : ३२ बजे