काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुकूल व्यवसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् ।
७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनुभन्दा स्वच्छ व्यवसायमैत्री वातावरण श्रृजना गर्नेतर्फ सरकारका क्रियाकलापहरू केन्द्रित भएमा व्यवसाय र राजस्व दुवै बढ्ने धारणा राखे ।
‘व्यापार सहजीकरण, स्वच्छ र निष्पक्ष राजस्व संकलन, समाजको सुरक्षा र संरक्षण गर्ने मुख्य उद्देश्य लिएर हिँडेको हाम्रो भन्सार प्रशासनले व्यवहारमा राजस्व संकलनलाई उच्च महत्त्व दिएको अवस्था छ । तर मुलुकको समग्र विकासको लागि व्यापार सहजीकरणलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नु मुलुकको दिर्घकालीन हितको लागि श्रेयस्कर हुन्छ,’ उनले भने ।
अध्यक्ष ढकालले वैध व्यापार प्रोत्साहित गरी अवैध व्यापार नियन्त्रण गर्न वैदेशिक व्यापार हुने मुख्य देशहरूसँग द्विपक्षीय सम्झौता गरी स्वचालित डाटा आदानप्रदान गर्न सकेको खण्डमा पनि भन्सार कार्यालयमा आउने न्यून तथा अधिक विजकीकरण, वर्गीकरण लगायतका समस्याहरू धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताए ।
ठूलो मात्रामा व्यापार हुने छिमेकी मुलुकहरूसँगको खुला सिमाना, आयातमुखी राजस्व संरचना, स्वदेशी उद्योगको संरक्षणको लागि सरकारले लगाएका भन्सारका उच्च र धेरै प्रकारका दरहरूले चोरीपैठारी र राजस्व जोखिमलाई बढाइरहेको हुनाले यसको न्यूनीकरणको लागि नीतिगत रूपमा नै सम्बोधन गर्नु पर्नेमा अध्यक्ष ढकालको जोड थियो ।
एकद्वार प्रणाली कार्यान्वयनमा आएपछि भन्सार सम्बन्धी अन्य धेरै निकायबाट जारी हुने सिफारिस, अनुमति लगायतका प्रमाणपत्रहरू स्वचालित रूपमा हुने गरेका र यसले यसले आयातरनिर्यात धेरै सहज भएको उल्लेख गर्दै उनले निकासीको लागि आवस्यक पर्ने उत्पत्तिको प्रमाणपत्रलाई पनि एकद्वार प्रणालीमा आवद्ध गर्न भन्सार विभागले आवश्यक पहल गर्न आग्रह गरे ।
उनले प्रविधिसँगै भौतिक पूर्वाधारहरूको पनि व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान रहने उल्लेख गर्दै निर्माणाधीन आइसीपीहरूको शीघ्र निर्माण, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाहरूको स्थापना र विस्तारमा समयमै ध्यान दिनसमेत सरकारलाई आग्रह गरे ।
अध्यक्ष ढकालले सार्वजनिक सेवा प्रवाह र लगानी अभिवृद्धि गर्ने वातावरण निर्माणका लागि अध्यादेशबाट एकमुष्ठ २ दर्जनभन्दा बढी कानुनहरूमा भएको संशोधनले मुलुकमा सकारात्मक व्यवसायीक वातावरण बनिरहेको अनुभूति निजी क्षेत्रले गरेको बताए ।
महासंघले चालु आर्थिक वर्षको बजेट तर्जुमाको क्रममा छुट्टै भन्सार महसुल ऐन, भन्सार जाँचपास परीक्षणको समय सीमालगायतका भन्सारसम्बन्धी धेरै सुझावहरू दिएको स्मरण गराउँदै अध्यक्ष ढकालले महासंघले उठाएका केही विषयहरू सम्बोधन भएपनि अन्य थुप्रै विषय थाती रहेकोले आउने दिनमा ती विषयहरूमा सम्बोधन हुने अपेक्षा गरे ।
प्रतिक्रिया