समुद्री मार्गपछि सिधा हवाई उडान सुरु गर्ने योजना बनाउँदै बङ्गलादेश र पाकिस्तान


बङ्गलादेश र पाकिस्तानले आफ्नो द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न कदम चालेका छन् । दुवै देशले सिधा समुद्री सेवा सुरु गरेपछि सिधा उडानहरू पुनः सुरु गर्ने दिशामा काम गरिरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार यो कदमले दुई राष्ट्रबीचको सम्बन्धमा नयाँ चरणको सुरुआत गरेको छ । “अहिले पाकिस्तान र बङ्गलादेशबीचको सम्बन्धले नयाँ युगको सुरुआत गरेको छ । सम्बन्धहरू बहुआयामिक तरिकाले सुदृढ हुँदैछन् । दुई देशबीच अहिलेसम्म सिधा उडानहरू स्थापित भएका छैनन् । तर यो दुवै देशका जनताको माग हो”, पाकिस्तानमा बङ्गलादेशका उच्चायुक्त इकबाल हुसेन खानले भने ।

उल्लेखनीय छ, सन् २०२४ अगस्टमा शेख हसिना सत्ताबाट हटाइएपछि पाकिस्तान र बङ्गलादेश नजिक आएका छन् । बङ्गलादेशले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरी पछि ढाका र इस्लामाबादले आफ्नो सम्बन्धलाई यसरी हेरेका थिएनन् । सन् १९७१ मा पाकिस्तानको आन्तरिक सङ्कटको परिणामस्वरूप भारत र पाकिस्तानबीच तेस्रो युद्ध र पूर्वी पाकिस्तानको विभाजन भएपछि स्वतन्त्र बङ्गलादेश राज्यको निर्माण गर्यो ।

खानले भने, “दुवै पक्षले सम्बन्धित एयरलाइन्सलाई सकेसम्म चाँडो सम्पर्क सुरु गर्न सुविधा प्रदान गर्न काम गरिरहेका छन् । अहिलेसम्म मलाई थाहा छ, बङ्गलादेशका तर्फबाट हाम्रो राष्ट्रिय वाहक बङ्गलादेश (बिमान) एयरलाइन्सले ढाकादेखि कराँची हुँदै लन्डनसम्म सञ्चालन गर्ने योजना बनाएको छ र यो देशले पनि काम गर्न थालेको छ ।”

उनले पेशावरमा आयोजित एक सेमिनारमा यी टिप्पणीहरू गरेका थियो र उनको भाषण बिएनएन न्युजले युट्युबमा अपलोड गरेको थियो । बङ्गलादेशका उच्चायुक्तको पेशावर भ्रमण लाहोर र मुल्तानको हालैको भ्रमणसहित पाकिस्तानभरि उनको निरन्तर यात्राको हिस्सा हो ।

उनले सिधा उडान सेवाको सम्भावित प्रभावका बारेमा आशावादी धारणा राख्दै भने, “म विश्वस्त छु कि सिधा उडान सम्पर्क सुरु भएपछि व्यापार, व्यवसाय, लगानी, शिक्षा र पर्यटनका लागि उच्च गति सुरु हुनेछ ।” यो कदमले विभिन्न क्षेत्रमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

बङ्गलादेश र पाकिस्तान बीचको सम्बन्धमा एक महत्त्वपूर्ण विकास दुई देशबीच सिधा समुद्री सेवाको सुरुआतसँगै भयो । यो पहल बङ्गलादेशमा राजनीतिक परिवर्तनपछि सुरु भयो । खानले बङ्गलादेशी बिरामीहरूले चिकित्सा उपचारको लागि पाकिस्तान यात्रा गर्न थालेको पनि उल्लेख गर्दै यसले जनता–जनता बीचको सम्पर्कलाई थप बढावा दिएको बताए ।

यो विकास बङ्गलादेशको राजनीतिक परिदृश्यमा अशान्त अवधि पछि आएको हो जसले इस्लामाबाद र ढाका बीचको ऐतिहासिक वैमनस्यलाई पछि पारेको छ । गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले हप्तौँको विरोध र हिंसापछि प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटायो । आन्दोलनका क्रममा छ सयभन्दा बढीको मृत्यु भएको थियो । छयत्तर वर्षीया हसिना भारत भाग्नुभयो र त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार  १६ : २३ बजे