धितोको जग्गा सकार्ने सीमा हटेपछि बैंकहरुमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, कर्जा अपलेखन २ गुणाले बढ्यो


सरकारले बैंक तथा वित्तीय संस्थालाई धितोको रुपमा रहेको जग्गा सकार गर्दा सीमा नरहने व्यवस्था गरेसँगै गैरबैंकिङ सम्पत्ति उल्लेख्य रुपमा बढेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा असुलिलाई तिब्रता दिँदा गैर बैंकिङ सम्पित्त बढेको हो ।

ऋणीले समयमा कर्जाको साँवा र व्याज भूक्तानी गर्न नसक्दा बढेको खराब कर्जाले गैरबैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढेको हो । कोरोना महामारी तथा आर्थिक मन्दीका कारण अर्थतन्त्रमा देखिएको नकारात्मक असरसँगै ऋणीको आम्दानी तथा व्यवसायमा आएको गिरावटले कर्जा भुक्तानीमा समस्या देखिएो हो । जसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानीमा देखिएको हो । कर्जा समयमा नउठेपछि बैंक तथा वित्तीय संस्थाले त्यस्तो ऋणको सतप्रतिशत जोखिम व्यवस्था गरेर असुलिको प्रक्रिया अघि बढाए ।

बैंक तथा वित्तीय संस्थाले कर्जा दिदाँ लिएको धितो बिक्री गरेर कर्जा असुल गर्न खोजे । धितो समेत बिक्री नभएपछि बैंक तथा वित्तीय संस्थामा गैरबैंकिङ सम्पत्ती सकार्ने र अपलेखन गर्ने क्रम बढन् पुग्यो । बैंकहरुले खराब कर्जाको अंश घटाउन भएपनि गैरबैंकिङ सम्पत्तिको रुपमा धितो सकार गर्नु पर्ने अवस्था छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ४० अर्ब ७५ करोड रुपैयाँ बराबरको छ । यो गैरबैंकिङ सम्पत्ति गत आवको सोही अवधिको तुलनामा करिब १९ अर्ब रुपैयाँले धेरै हो । गत आवको पुसमसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको थियो ।

त्यसैगरी बैंकहरुको गैरबैंकिङ सस्म्पत्तिसँगै कर्जा अपलेखन पनि उच्च दरमा बढेको छ । चालु आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाले २ अर्ब ७० करोड रुपैयाँ बराबरको कर्जा अपलेखन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब २ गुणाले धेरै हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा अपलेखन एक अर्ब ६८ रुपैयाँ बराबर मात्र थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको मात्रै गैरबैंकिङ सम्पत्ति ३४ अर्ब ८६ करोड रुपैयाँ बराबरको छ । त्यसैगरी विकास बैंकको ३ अर्ब ६० करोड र फाइनान्स कम्पनीहरुको २ अर्ब २८ करोड रुपैयाँ बरावरको छ ।

त्यसैगरी चालु आवको पुससम्ममा वाणिज्य बैंकहरुको मात्रै कर्जा अपलेखन २ अर्ब ६३ करोड रुपैयाँ बराबरको छ । त्यसैगरी विकास बैंकको २ करोड र फाइनान्स कम्पनीहरुको ४ करोडरुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरको छ । संस्थाले कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभएमा आफैँले सकार गर्नु पर्ने हुन्छ । यसरी बैंक वित्तीय संस्थाले गैरबैंकिङ सम्पत्ति समेत बिक्री गर्न नसकेको अवस्थामा त्यसलाई अपलेखन गर्न सक्छन् ।

तर, कर्जा अपलेखन गर्दा बैंक तथा वित्तीय संस्थाले कर्जा खराब बर्गमा परी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था भइसकेको हुनुपर्ने व्यवस्था छ । कर्जा असूलिका लागि प्रचलित ऐन तथा नीति बमोजिम धितो सुरक्षणको लिलाम बिक्रीको प्रक्रिया सम्पन्न गरेको हुनुपर्छ । साथै कर्जाको धितो सुरक्षण लिलाम बिक्री हुन नसकेको अवस्थामा अनिवार्य रुपमा धितो सकार गरेको अवस्थामा मात्र कर्जा अपलेखन गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार  १९ : ३५ बजे