बचतकर्ताको स्वास्थ्य जोगाउँदै ‘वेल्थ’ बढाइ दिने सिटिजन्स बैंकको योजना


सिटिजन्स बैंक इन्टरेनशनलले बचतकर्ताको पैसाको सुरक्षासँगै स्वास्थ्यलाई पनि ध्यान दिनेगरी बचत योजना सञ्चालनमा ल्याएको छ । बैंकले ‘हेल्थ एण्ड वेल्थ’ बचत योजना मार्फत बचतकर्ताको सम्पत्ति र स्वास्थ्य दुबैमा काम गर्ने भएको हो ।

बैंकले उक्त योजना अन्तर्गतरका बचतकर्तालाइ वार्षिक ४.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । त्यसका साथै उक्त योजनाको बचत खाता खोल्दा सम्भाब्य जोखिम न्यूनीकरणका लागि आकस्मीक कोषको रुपमा रिकरिङ योजना पनि छ । बैंकहरुले अधिकतम १० वर्षका लागि रिकरिङ निक्षेप लिन पाउने व्यवस्था अनुसार यो योजना अन्तरगत बचतकर्ताले नै अधिकतम अवधिको सीमा भित्र रही समय तय गर्न सक्ने बैंकका डिपोजिट मार्केटिङ प्रमूख पारस बिक्रम थापाले बताए ।

बैंकले यो योजना गत बैशाखमा सार्वजनिक गरेको भएपनि गत भदौदेखि कार्यान्वयनमा ल्याएको हो । यो योजना सिटिजन्स बैंकले पहिलो पटक सुरु गरेको र बैंकिङ क्षेत्रकै नौलो योजना भएको थापाको दावी छ । “यो योजनाअन्तगर्त अहिले काठमाडौँ र सुर्खेतमा सेवा दिन थालिसकिएको छ भने आगामी दिनमा अरु क्षेत्रमा पनि विस्तार गर्नेगरी काम गरिहेका छाँै,” थापाले भने, “यस योजनामा सर्वसाधारणबाट बीमा योजना पनि जोड्न सुझाव आएको छ, उक्त सुझावलाई पनि समेटेर कार्यान्वयन गर्ने प्रयासमा छौँ ।”

बैंकको ‘हेल्थ एण्ड वेल्थ’ बचत खाताका ग्राहकले वर्षको एक पटक निशुल्क होल बडी चेकअप गर्न पाउँछन् । त्यसका साथै एक पटकको डाक्टर भिजिट पनि निशुल्क हुने थापाले बताए । उक्त योजनाका बचतकर्ताले निशुल्क दन्त उपचार, निशुल्क चर्म रोग उपचार र निशुल्क आँखा उपचारको सुविधा पाउने छन् ।

त्यसैगरी इ–फार्मेसि मार्फत औषधि खरिद गर्दा डेलिभरी निशुल्क हुनुका साथै विषेश छुटको व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले उक्त योजना अन्तर्गतका बचतकर्तालाई स्पा, मसाज र सैलुनमा पनि विषेश छुटको व्यवस्था गरेको छ ।

बैंकले उक्त योजना अन्तर्गतका बचतकर्तालाई पहिलो एक वर्ष इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ र डेबिट कार्ड निशुल्क गरेको छ । त्यसैगरी लकर सुविधामा ५० प्रतिशत छुट र न्यूनताम ३ लाख निक्षेप राख्दा लकर कि मा शतप्रतिशत छुट हुने थापाले जानकारी दिए ।

थापका अनुसार हेल्थ एण्ड वेल्थका बचतकर्ताले मेडिकल क्रेडिट कार्ड लिन शुल्क नलाग्ने व्यवस्था गरेको बताउँदै न्यूनतम मौज्दात भएको खाता एक लाखसम्मको क्रेडिट कार्ड जारी गर्दा ७५० रुपैयाँ छुट दिने गरेको जानकारी दिए । न्यूनतम ३ लाख मौज्दात राख्नुपर्ने उक्त खाताका बचतकर्ताले सिटिजन्स क्यापिटलबाट प्रदान हुने लगानी व्यवस्थापक सेवा शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् भने सीआइबीएलमा निशुल्क ब्रोकर खाता खोल्न सक्नेछन् ।

बैंकले यसै योजनासँग जोडेर सानो आकारको रिकरिङ बचत पनि गर्न सकिने व्यवस्था गरेको छ । हेल्थ एण्ड वेल्थ योजनाका बचतकर्ताको इच्छाअनुसार प्रति महिना एक सय रुपैयाँको रिकरीङ खाता पनि सञ्चालन हुने थापाले बताए । यो आपतकालिन कोषको रुपमा रहने बैंकले जनाएको छ ।

त्यसैगरी विदेशी विनिमयको कारोबारमा १० पैसा छुट तथा बढी दिइने र डलर ट्राभल कार्ड जारी गर्दा लाग्ने सेवा शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था बैंकले गरेको छ । उक्त योजनाका ग्राहकले इक कमर्श कार्ड जारी गर्दा लाग्ने शुल्कमा ५० प्रतिशतसम्म छुट पाउँनेछन् ।

बैंकले आफ्ना ग्राहकको हेल्थको परीक्षणका लागि चिरायू नेशनल हस्पिटल, समाज डेन्टल, नभ डर्मा स्किन लेजर एस्थेटिक, हिमालय हस्पिटल र सुर्खेत हस्पिटलसँग सम्झौता गरी सेवा दिन थालिसकेको छ । बैंकले विराटनगर हस्पिटलसँग पनि सम्झौता गरिसकेको र केही दिनमा मै सेवा सुरु हुने जनाएको छ । आगामी दिनमा अन्य क्षेत्रका हस्पिटलहरुसँग पनि सम्झौता गरी ग्राहकलाई सेवा दिने क्रम निरन्तर बढ्दै जाने थापाले बताए ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार  १६ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।