काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन दिएकाहरुमध्ये ५ जना सर्टलिष्टमा परेका छन्। प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कूल १२ जना आवेदक मध्येबाट छनौट समितिले पाँच जनाको नाम सार्वजनिक गरेको हो ।
सर्टलिष्टमा पर्नेहरुमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन्। समितिले सर्टलिष्टमा परेका पाँच जनासँग प्रस्तुतिकरण समेत लिई उत्कृष्ट तीन जनाको नाम नेपाल सरकारलाई सिफारिस गर्नेछ ।
समितिले सर्टलिष्टमा परेकाहरुलाई फागुन १० गते प्रस्तुतिकरण र अन्तरवार्ताका लागि बोलाएको छ। अन्तरवार्ता फागुन १० गते अर्थमन्त्रालय, सिंहदरबार, काठमाडौँमा दिउँसो २ बजे शुरु हुनेछ।
सर्टलिष्टमा परेका रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन्। त्यस्तै, बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक, पुडासैनी पूर्वराजस्व सचिव तथा हाल कृषि विकास बैंकका अध्यक्ष र ओझा पत्रकार हुन्।प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको थियो ।
प्रतिक्रिया