चार वर्षपछि सुपारी, केराउ र मरीचको परिमाणात्मक बन्देज हट्यो


काठमाडौँ । सरकारले सुपारी, केराउ र मरीचको परिमाणात्मक बन्देज हटाएको छ । गत बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात गर्न अनुमति दिने भएको हो ।

आर्थिक वर्ष २०८१\८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीच आयातमा लगाइएको प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ । व्यवसायीको मागका आधारमा आयातमा लगाइएको बन्देज हटाइएको हो । अहिले नयाँ उद्योगका लागि पनि खुला हुने गरी बन्देज हटाइएको छ ।

सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले २०७६ चैत २४ मा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाएको थियो । कोभिड–१९ महामारी बढेका बेला विदेशी विनिमय सञ्चिति बढाउन भन्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बन्देज लगाएका थिए ।

उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ, सुपारी र मरीच आयातका लागि अनुमति दिइएको हो । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी केराउ, सुपारी र मरीच आयातका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक वर्ष २०७७\७८ मा उद्योगी व्यवसायीले एक वर्षमा केराउ ८० हजार टन, सुपारी २५ हजार टन, छोकडा ५ हजार टन, नधुलाएको मरीच १५ हजार टन आयात गर्न सक्ने गरी परिमाणात्मक बन्देज लगाइएको थियो ।

सुपारी इन्डोनेसिया, मलेसिया, क्यानडालगायत मुलुकबाट आयात हुने गरेको छ । चालु आर्थिक वर्षको ६ महिना ४१ करोड १७ लाखको सुपारी आयात भएको छ । गत आर्थिक वर्षमा १ अर्ब ५ करोड ८४ लाखको सुपारी आएको थियो ।

प्रकाशित मिति: ७ फागुन २०८१, बुधबार  ०७ : २४ बजे