काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को सात महिना (साउन–माघ) मा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागका अनुसार गत वर्षको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सो अवधिमा ८६ अर्ब ८३ करोड नौ लाख रुपैयाँको निर्यात भएको थियो ।
यता, सात महिनाको अवधिमा आयात भने १० प्रतिशतले बढेर नौ अर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोहि अवधिमा आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँको आयात भएको थियो ।
आयात र निर्यात दुवै बढ्दा कुल वैदेशिक व्यापारसमेत १३.३० प्रतिशतले बढेर ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ९ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको थियो ।
आयात र निर्यात दुवै बढ्दा व्यापार घाटासमेत ६.२० प्रतिशतले बढेर आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँ पुगेको छ । सात महिनाको अवधिमा सबैभन्दा धेरै आयात डिजेल आयात भएको छ ।
उक्त अवधिमा ६६ अर्ब ४८ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यस्तै, डिजेलपछि सबैभन्दा धेरै कच्चा सोयाबिन तेल आयात भएको विभागको तथ्यांकले देखाएको छ । सात महिनामा ३८ अर्ब २९ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ ।
आयातको तेस्रो नम्बरमा पेट्रोल छ । सात महिनामा ३७ अर्ब ६४ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । यस्तै, खाना पकाउने ग्यास आयातमा ३५ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ ।
प्रतिक्रिया