काठमाडौँ । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानको लागि साढे चार लाख बढीले श्रम स्वीकृति लिएका छन् । जुन गत आर्थिक वर्षको भन्दा १५.६६ प्रतिशतले धेरै हो । चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो सात महिना (साउनदेखि माघ मसान्तसम्म)मा वैदेशिक रोजगारीमा जान चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका छन् ।
चालु आर्थिक वर्षको पहिलो सात महिनामा औसतमा प्रत्येक महिना ६६ हजार ५०१ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट चार लाख दुई हजार ४७७ जनाले श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान ६३ हजार ३१ जना बढीले श्रम स्वीकृति लिएका छन् । चालु श्रम स्वीकृति लिनेमा चार लाख १२ हजार ५५२ जना पुरुष र ५२ हजार ९५६ जना महिला छन् ।
भालु आर्थिक वर्षमा यस अवधिमा नेपालीको प्रमुख गन्तव्य युनाइटेड अरब इमिरेट्स (यूएई) मा युवा जनशक्तिको आकर्षण देखिएको छ । यूएईमा माघ महिनामा मात्र २५ हजार ३ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै साउदी अरब १२ हजार ८ सय ७९, कतार ११ हजार ८ सय ९८ , कुवेत ५ हजार ६६५, मलेसिया ३ हजार ५ सय ९२, जापान २ हजार ३ सय ३५ र क्रोएसियाका लागि १ हजार २४ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१÷८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
प्रतिक्रिया