पछिल्ला दिनहरुमा सेयर बजारमा निरन्तर गिरावट आएको छ । बुधबार समेतको पछिल्ला १२ दिनको कारोबारमा बजार ११ दिन घटेको छ । ११ मध्ये ९ दिन दोहोरो अंकले बजार घटेसँगै समग्र बजार पुँजीकरणमा पनि भारी संकुचन आएको छ ।
बुधबार मात्रै बजार परिसुचक नेप्से १४.८८ अंकले घटेको छ । बजार खुलेदेखि नै आरालो लाग्न थालेको बजार बन्द हुँदा २६८२.१५ अंकमा अडिएको हो । कुल ३११ कम्पनीको सेयर किनबेच भएको बजारमा ५४ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको स्थिर छ भने १८२ कम्पनीको घटेको छ ।
बुधबार बजार घट्दै गर्दा कारोबार रकममा भने केही सुधार आएको छ । मंगलबार ४ अर्ब ३० करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।
मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा गरिमा समृद्धि योजना, भुगोल इनर्जी, ग्रीन डेभलपमेण्ट बैंक, रावा इनर्जी लगायत कम्पनीको सेयर तथा इकाई मूल्य अधिक बढेको छ । सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको बजारमा हिमालयन पावर पार्टनर, स्वेतगंगा हाइड्रोपावर, सेज्ट्रल फाइनान्स, मनकामना इन्जिनियरिङ लगायत कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।
धेरै रकम र कारोबार संख्याको आधारमा हिमालयन रि शीर्षस्थानमा रहँदा बुधबारको बजारमा घलेम्दी हाइड्रोको धेरै कित्ता सेयर किनबेच भएको छ ।
व्यापार र होटल समुहमा मात्र सुधार आउँदा बजारमा जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै गिरावट आएको छ भने अन्य उपसमुहमा पनि गिरावट आएको छ ।
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९६ अंकले घटेर ४४९.९२ अंकमा झरेको बजारमा कारोबारयोग्य सेयरको मापक फ्लोट इन्डेक्स १.१४ अंकले घटेर १८१.२९ अंकमा अडिएको छ ।
बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण पनि घटेर ४४ खर्ब ५३ अर्ब ५९ करोड ६७ लाख २५ हजार रुपैयाँमा झरेको छ ।
गत फागुन १८ गते २८९०.२८ अंकमा खुलेको बजार सोही दिन १३.६२ अंकले घटेको थियो । त्यसपछिका ६ कारोबार दिनमा क्रमशः ३०.३६, २५.१६, २.७०, ४६.३३, २०.६८ र ३२.२१ अंकले घटेर २७१९.२० अंकमा अर्लिएको बजार फागुन २६ गते १७.२८ अंकले बढेको थियो ।
त्यसपछिका ४ कारोबार दिनमा नै बजार घटिरहेको छ । गत आइतबार २१.६३ अंकले घटेको बजार सोमबार १०.१४, मंगलबार ७.६६ र बुधबार १४.८८ अंकले घटेको हो । यो अवधिमा नेप्से परिसुचक २०८.१३ अंकले घटेको छ । बजारको यो गिरावटसँगै समग्र बजार पुँजीकरण पनि ४७ खर्ब ९९ अर्ब रुपैयाँबाट घटेर ४४ खर्ब ५३ अर्बमा ओर्लिएको हो । यो अवधिमा लगानीकर्ताको सम्पत्ती ३ खर्ब ४६ अर्ब रुपैयाले घटेको हो ।
प्रतिक्रिया