असारे धानखेतीबाट क्षति व्यहोरिरहेका किसानलाई चैते धान बन्न सक्छ स्मार्ट उपाय


काठमाडौँ । जलवायु परिवर्तनका कारण हुने बेमौसमी वर्षाका कारण नेपालको कृषि क्षेत्र वर्षेनी प्रभावित हुँदै आएको छ । मनसुनले निम्त्याउने अविरल वर्षा, बाढी र डुबानले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमिनमा लगाएको बाली नष्ट गर्ने गरेको छ । यस अवस्थामा चैते धानखेती किसानका लागि स्मार्ट र व्यावहारिक विकल्प बनेको कैलालीका कृषकहरुको अनुभव छ ।

यतिबेला कैलालीको भजनी नगरपालिका निवासी सीताराम चौधरीले खेतमा चैते धान रोप्ने तयारी गरिरहेका छन् । वैशाख र जेठ महिना चैते धानका लागि अनुकूल हुने भएकाले असारे धानको तुलनामा उत्पादन बढी हुने गरेको उनले बताए । आफ्ना सुरुवाती दिनलाई सम्झिँदै सीताराम भन्छन्, ‘सुरुमा मैले बीउ ल्याएर धान रोप्दा गाउँलेले आफूलाई चैतमा पनि धान रोपेको भन्दै खिसी गर्थे । अहिले यस क्षेत्रका अधिकांश किसानले चैते धान लगाउन थालेका छन् ।’

भजनी क्षेत्रमा काँडा, पथरैया र कान्द्रा नदीले वर्षायाममा निम्त्याउने डुबानका कारण वर्षे धानबाली नष्ट हुने गरेको छ । डुबानको समस्या बढ्दै जान थालेपछि यस क्षेत्रका किसानले विकल्पका रूपमा चैते धानखेती गर्न थालेका हुन् । अहिले करिब पाँच सय बिघाहा क्षेत्रफलमा चैते धान रोप्ने उनीहरुले तयारी गरेका छन् ।

चैते धानको बाली मनसुन सुरु हुनुअघि नै उठाउन सकिने भएकाले वर्षाले पुर्याउने क्षतिबाट बच्न सकिने किसानहरु बताउँछन् । यसरी परम्परागत असारे धानखेतीको विकल्पका रुपमा चैते धान खेती गर्दा उत्पादन बढ्ने र क्षति नहुने भएकाले अन्य ठाउँका कृषकहरुले आधुनिक तथा जलवायु परिवर्तन स्मार्ट कृषि गर्दा राम्रो हुने देखिन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत असोज ११ र १२ गते देशभर गएको अविरल वर्षाका कारण ६ अर्ब रुपैयाँभन्दा धेरैको बालीमा क्षति पुगेको थियो । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा हुने क्षति र अनिश्चित मनसुनको चुनौतीलाई सामना गर्न सरकारले चैते धानखेती जस्तै अन्य स्मार्ट कृषि प्रणाली अँगाल्नुपर्ने कृषकहरु बताउँछन् ।

नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई थप आधुनिकीकरण गरेता पनि सबै किसानले सरकारी अनुदान र प्रविधिको पहुँच पाएका छैनन् । अनुदान, सिँचाइ सुविधा, उन्नत बीउको उपलब्धता, र बजारीकरणको अभावमा किसानहरू अझै परम्परागत खेती गरिरहेका छन् ।

सहुलियत ऋण, कृषि बिमा, बजार पहुँच, र प्रविधिको सहज उपलब्धता सुनिश्चित गर्न सकेमा कृषि उपजको उत्पादन बढ्ने र यसले किसानहरूको वास्तविक हित हुने विज्ञहरू बताउँछन् । जलवायु संकटलाई मध्यनजर गर्दै सरकारले चैते धान खेतीलाई थप प्रवर्द्धन गरेमा यसले खाद्य सुरक्षा मात्र नभई कृषकको आम्दानी वृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

जलवायु अनुकूल कृषि प्रवर्द्धन नगर्ने हो भने कृषकहरू हरेक वर्ष बाढी र डुबानको मारमा पर्न बाध्य हुनेछन्, जसले समग्र कृषि अर्थतन्त्रमै असर पार्नेछ ।

प्रकाशित मिति: ६ चैत २०८१, बुधबार  १८ : ०५ बजे