सेयरको ‘क्लोजिङ प्राइस’ मा नयाँ व्यवस्था सुरु, १० कित्ता सेयर किनबेच गरेर मूल्य घटबढ गराउने दिन सकिए


नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचिकृत कम्पनीको दोस्रो बजारमा हुने सेयर कारोबारको अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था कार्यान्वायनमा ल्याएको छ । यस अघि अन्तिम मूल्य निर्धारण गर्ने प्रष्ट प्रावधानको अभावमा कम्पनीहरुको अन्तिम पटकको कारोबार मूल्यलाई नै क्लोजिङ प्राइस मान्दै आएको थियो ।

बिहीबारदेखि कार्यान्वायनमा आउने नयाँ व्यवस्था अनुसार बजार बन्द हुँदाको अन्तिम मूल्य क्लोजिङ प्राइस हुनेछैन । नेप्सेले कारोबारको अन्तिम समयमा सेयर मूल्य घटाउने र बढाउने स्तरवृद्धि रोकि बजारलाई प्रभावकारी बनाउन क्लोजिङ प्राइस निर्धारणको व्यवस्था पहिलो पटक कार्यान्वायनमा ल्याइएको हो ।

नेप्सेले कुनै पनि कम्पनीको हरेक दिनको अन्तिम पटकको कारोबार मूल्यलाई नै ‘क्लोजिङ प्राइस’ कायम गर्दै आएकोमा नयाँ व्यवस्था अनुसार बिहीबारदेखि क्लोजिङ प्राइस भारीत औषतका आधारमा निर्धारण हुनेछ । धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई संशोधन गरेर नेप्सेले कारोबार समयमा अन्तिमको १५ मिनेटमा खरिद बिक्री भएको सेयर मूल्यको औसतलाई अन्तिम मूल्य कायम गर्ने व्यवस्था गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नोटबजारलाई बताए ।

“२ः४५ बजेदेखि ३ बजेसम्मको १५ मिनेट अवधिको कारोबारको भारीत औसत निकालेर अन्तिम मूल्य कायम हुनेछ ।” प्रवक्ता पराजुलीले भने, “त्यसका लागि नेप्सेको सञ्चालक समितिले कारोबार विनियमावली संशोधनको निर्णय यस अघि नै गरेको थियो, अब बिहीबारदेखि यो व्यवस्था कार्यान्वाउनमा आउनेछ ।” नेप्से सञ्चालक समितिले निर्णय गरेको संशोधित नियमावली स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइएकोमा बोर्डबाट स्वीकृति आए लगत्तै व्यवस्था कार्यान्वायनमा ल्याइएको हो ।

यो ब्यबस्था कार्यान्वनमा आएपछी कारोबारको अन्तिम समयमा १० कित्ताका दरले सेयर किनबेच गरेर मुल्य बढाउने र घटाउने अभ्यासको अन्त्य हुन्छ । त्यसका साथै भोलिपल्टको ओपनिङ मूल्य उच्च कायम गर्ने अवस्थाको पनि अन्त्य हुने उनको भनाइ छ । “भोलिपल्टको सुरुवाती कारोबारका लागि धेरै मूल्य कायम गराउने र बढ्यो भनेर देखाउने अभ्यासलाई यसले नियन्त्रण गर्नेछ,” पराजुलीले भने ।

यसभन्दा अघि अन्तिम मूल्यको सन्दर्भमा कानुनी व्यवस्था थिएन । त्यसैले पनि कारोबारीहरुले अन्तिम समयमा १० कित्ता सेयरमा मूल्य उतारचढाव गरएर गलत प्रयोग गर्दै आएका थिए । बिहीबारदेखि भने यो अभ्यासको अन्त्य भएको छ । १० कित्ता सेयर एक पटक किनबेच गरेर मूल्य बढाउने वा घटाउनेहरुले अब अन्तिमको १५ मिनेट अवधि भरी कारोबार गरेर मात्र उक्त मूल्य कायम गराउन सक्छन् तर एक पटकको कारोबारले क्लोजिङ प्राइसमा केही असर पारेपनि ठुलो प्रभाव पर्नेछैन ।

विनियमावली अनुसार प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नु पर्छ । निरन्तर कारोबार सत्रमा कायम भएको मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्नुपर्ने हुन्छ ।

प्रारम्भिक कारोबार सत्रमा कारोबार नभएका धितोपत्रको कारोबारका लागि मूल्य प्रविष्टि गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्नु पर्ने व्यवस्था विनियमावलीमा छ । कुनै धितोपत्रको कारोबार लगातार पन्ध्र दिनसम्म नभएमा त्यस पछि हुने पहिलो कारोबारका लागि नेप्सेले मूल्य परिवर्तनको सीमालाई खुल्ला गर्न सक्नेछ ।

प्रकाशित मिति: ६ चैत २०८१, बुधबार  २० : ०१ बजे