काठमाडौँ । आइएमई ग्रुप र आईएक्सआईको संयुक्त लगानीमा काठमाडौँको धुम्बाराहीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा आएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरत सिंह भण्डारीले उक्त स्कुलको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए । यस्तै मन्त्री भण्डारीले सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।
रोजगारमूलक तालिम सञ्चालन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको काठमाडौँ टेक्निकल स्कुलमा हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी तालिम सञ्चालन हुनेछ । स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।
स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए । दुई दशक लामो व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, उत्पादन क्षेत्र हुँदै शिक्षा क्षेत्रमा प्रवेश गरेको छ ।
“नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,” अध्यक्ष ढकाल भन्छन्, “हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएका हौँ । यसका लागि स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिमहरु सञ्चालन गर्नेछ ।”
अहिले नेपालले सामना गरिरहेको बेरोजगारी तथा युवा जनशक्तिको पलायनलाई रोक्न र युवाको सीप विकासमा स्कुलले महत्वपूर्ण भूमिका खेल्ने उनको तर्क छ ।
काठमाडौँ टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले केटीएसले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको बताए । केटीएसले विद्यार्थीहरुलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको उनले जानकारी दिए ।
प्रतिक्रिया