काठमाडौं । कैलालीको टीकापुर नगरपालिकामा पाइप लाइनमार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत् लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र भएको छ ।
नगरपालिका-५ स्थित सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण भएको बायो ग्यास प्लान्टको विद्युत् महसुल नतिर्दा विद्युत् लाइन काटिएको थियो । विद्युत् लाइन काटिएपछि ग्यास वितरणको काम पनि ठप्प भएको छ । आसपासका ५५ घरमा पुर्याइएको ग्यास बन्द भएपछि करोडौँको संरचना अलपत्र परेको छ । गोबरबाट ग्यास उत्पादन गरेर दैनिक ४ घण्टा स्थानीयलाई ग्यास उपलब्ध गराउँदै आइएको थियो ।
गौशालामा पर्याप्त गोबर भए पनि ग्यास प्लान्ट बन्द भएको गौशाला सञ्चालन गर्दै आएको सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्री बताउँछन् । उनका अनुसार नगरपालिकाले विद्युत्को महसुल नतिरेका कारण ग्यास प्लान्ट बन्द भएको छ ।
‘दैनिक ४ घण्टा ग्यास प्लान्ट सञ्चालन हुन्थ्यो । अहिले बिजुलीको लाइन काटेपछि बन्द भएको छ,’ उनले भने, ‘हामीले बिजुलीको लाइन काटेको भनेर नगरपालिकालाई दुईपटक खबर गरिसकेका छौँ । त्यसको सुनुवाइ भएको छैन ।’
उनका अनुसार नगरपालिकालाई ग्यास प्लान्ट समितिको मातहतमा सञ्चालनका लागि आग्रह गरेको भए पनि त्यसको सुनुवाइ भएको छैन ।
‘विद्युत्को लाइन काटेपछि पनि नगरपालिकालाई दुईपटकसम्म खबर गरेका छौँ । पत्र पठाएका छौँ । सुनुवाइ हुन सकेको छैन,’ उनी भन्छन्, ‘प्लान्ट सञ्चालन गर्न सक्यो भने त्यो राम्रो आम्दानीको स्रोत बन्न सक्छ । त्यो हुन सकेको छैन । करोडभन्दा बढी लगानी धोस्त हुने स्थितिमा पुगेको छ ।’
विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका अनुसार विद्युत् लाइन गत पुस २२ गते काटिएको थियो । १४ हजार ६४६ रुपैयाँ नतिरेपछि लाइन काटिएको वितरण केन्द्रका अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले उक्त रकम जरिवाना थपिँदै २५ हजार १७२ रुपैयाँ पुगेको छ ।
‘लामो समयदेखि विद्युत् महसुल नतिरेका कारण लाइन काटिएको हो । बक्यौता तिरेपछि लाइन पुनः हामी जोडिदिन्छौँ,’ उनले भने ।
घरमा दैनिक पाइप लाइनबाट ग्यास आउन थालेपछि उत्साहित बनेका स्थानीय अहिले निराश भएका छन् । निरन्तरता हुने कुरामा सुरूदेखि शङ्कामा रहेका स्थानीय पुरानै स्थितिमा फर्किनुपरेको बताउँछन् । बायो ग्यासबाट खाना पकाउने बानी परेकाहरु पुनः एलपी ग्यासको सहारामा फर्किनुपरेको छ । जडान भएका उपकरणमा खिया लाग्न थालिसकेको छ । संरचना जीर्ण बन्दै गएका छन् । जडान भएदेखि ग्यास प्लान्टको मर्मतसम्भार हुन सकेको छैन ।
करिब १ करोड ६० लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको उक्त ग्यास प्लान्टबाट पशु मलमूत्र, जैविक फोहर र कृषि अवशेषमार्फत बायोग्यास उत्पादन गर्ने लक्ष्य लिइएको थियो । ग्यास प्लान्ट सञ्चालनका लागि आवश्यक प्रविधि, दक्ष जनशक्तिलगायत कुराको पनि अभाव देखिएको छ ।
नगरपालिकाले उपभोक्तालाई प्रतियुनिट ४५ रुपैयाँ महसुल तिर्ने गरी कार्यविधि पनि बनाएको छ । स्थानीयले उक्त दररेट महँगो भन्दै असन्तुष्टि समेत व्यक्त गर्दै आएका छन् । स्थानीय उपभोक्ता रमेश सिंहले सरकारको बेवास्ताका कारण सञ्चालनमा आइसकेको ग्यास प्लान्ट बन्द भएको बताए ।
‘हामी उत्साहित थियौँ, घरघरमा पाइपबाट ग्यास बाल्न पाइन्छ भनेर । केही महिना सञ्चालन भएको ग्यास प्लान्ट एकाएक बन्द भयो । फेरि त्यहीँ एलपी ग्यासको सहायता लिनुपर्ने स्थिति आयो,’ उनले भने ।
दिनमा ४ घण्टा उपलब्ध गराउँदै आएको ग्यास २४ सै घण्टा हुने आशामा बसेका उपभोक्ता एकाएक ग्यास बन्द भएपछि निराश बनेको उनको भनाइ छ । नगरपालिकाको वन वातावरण तथा फोहर व्यवस्थापन उपशाखाका प्रमुख लोकबहादुर बुढाले उपभोक्ताले तोकेको मूल्य बढी भयो भन्दै विरोध गरेपछि प्लान्ट बन्द भएको बताए ।
‘कार्यपालिकाले प्रति युनिट ४५ रपैयाँ तोकेको थियो । त्यो रकम बढी भयो भनेर उपभोक्ताले विरोध गर्दा बन्द गर्नुपरेको हो,’ उनले भने, ‘चाँडै प्लान्ट सञ्चालनका हुने गरी समन्वय भइरहेको छ ।’ रासस
प्रतिक्रिया