मुना–जलजला–ढोरपाटन सडक खोलिँदै, व्यापार र पर्यटनमा नयाँ सम्भावना


काठमाडौँ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा रहेको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक निर्माणको काम तिव्र गतिमा अघि बढिरहेको छ । ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेपछि यस क्षेत्रका स्थानीय तथा पर्यटन व्यवसायीहरुले नयाँ अवसरको आशा गरेका छन् ।

संघीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको पाँच करोड रुपैयाँ बजेटबाट म्याग्दीको धौलागिरि गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो । हालसम्म तीन किलोमिटर ट्र्याक खुलिसकेको छ । आगामी केही समयमै थप पाँच किलोमिटर खुल्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।

यस सडकको निर्माणपछि म्याग्दी र आसपासका किसान तथा व्यापारीहरूलाई कृषि तथा अन्य उपज सहज रूपमा बजार पुर्याउन मद्दत पुग्नेछ । हाल ढुवानी समस्याका कारण उत्पादित वस्तुहरूको उचित मूल्य प्राप्त गर्न कठिन भइरहेको छ । सडक स्तरोन्नति भएपछि ढोरपाटन क्षेत्रको जडिबुटी, पशुपालन, आलु तथा अन्य कृषिजन्य उत्पादन सहजै निर्यात गर्न सकिने स्थानीय व्यवसायीहरू बताउँछन् ।

नेपालकै एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढाउने लक्ष्यसहित सडक निर्माणलाई प्राथमिकता दिइएको छ । “सडक खुलेपछि पर्यटन व्यवसाय फस्टाउनेछ । जलजला क्षेत्रमा पदयात्रा, होमस्टे, तथा धार्मिक पर्यटनलाई समेत प्रवद्र्धन गर्न सकिन्छ,” धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ट्र्याक पूर्ण रूपमा खुलेपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड हुँदै यात्रा गर्दा लाग्ने ७० किलोमिटर दूरी छोटिनेछ । यसले नजिकैका बासिन्दालाई राजधानीसँग जोड्न मात्र होइन, पूर्वीरुकुमको टकसेरा क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुर्याउनेछ ।

सरकारले ढोरपाटनसम्मको सडक विस्तार योजनालाई प्राथमिकता दिएको छ, जसले आर्थिक गतिविधिलाई तीव्रता दिने र दुर्गम क्षेत्रलाई मुख्य बजारहरूसँग जोड्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २१ चैत २०८१, बिहीबार  १६ : १७ बजे