काठमाडौँ । सुनचाँदीको मूल्यले नयाँ उचाइ छुँदै गर्दा बैंकमा सुन तथा चाँदी कर्जा पनि बढेको छ । चालु आर्थिक वर्षको माघसम्ममा यस्तो कर्जा १५.८ प्रतिशतले बढेर ७० अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा यस्तो कर्जा २०.८ प्रतिशतले घटेर ५६ अर्ब ३ करोड रुपैयाँ हाराहारी मात्रै थियो । सुन तथा चाँदीको मूल्यमा भएको लगातारको वृद्धिका कारण पछिल्लो समय सुन धितोमा राख्ने क्रमसमेत बढेको छ ।
सुन धितोमा राखेर कर्जा लिने र विभिन्न आवश्यकता पूर्ति गर्नेतर्फ पनि उपभोक्ता आकर्षित भएको व्यवसायीहरू बताउँछन् । सोही कारण पनि सुन तथा चाँदी कर्जा बढ्न सहयोग पुगेको हो ।
व्यवसायीहरूले पनि अहिले सुन बेच्नेभन्दा जम्मा गर्ने नीति लिएका छन् । उच्च मूल्यका कारण सुन किन्ने ग्राहक कम भइरहेको अवस्थामा उनीहरूले सुन धितोमै राख्ने र रकम चलाउने गरिरहेका छन् । सोही कारणले सुनचाँदी कर्जा बढेको व्यवसायीहरूको भनाइ छ ।
धितो सुरक्षणमा कम जोखिम भएको र कर्जा प्रवाह गर्न पनि सजिलो भएकाले बैंकहरूले सुनचाँदीतर्फ कर्जा लगानी बढाएका हुन् ।
सुनको भाउ निरन्तर बढ्दै जाँदा आफूसँग भएको सुन धितो राखेर पैसा लिन सहज हुने भएकाले पनि अहिले सुनमा जाने कर्जा बढेको सुन व्यवसायी बताउँछन् ।
माघसम्ममा समग्रमा उपभोग्य वस्तुतर्फको कर्जा ५.९ प्रतिशतले बढेको छ । जसमा सुनचाँदी कर्जा १५.३ प्रतिशतले बढेको हो ।
अर्थतन्त्रको सुस्तता कायमै रहिरहेको अवस्थामा उपभोक्ताको क्रयशक्ति घट्दै गएको छ । त्यसकारण पनि आफूसँग भएको सुन धितोमा राखेर कर्जा लिनेहरू बढ्दै गएको व्यवसायीहरूले बताए ।
बैंकहरूले धेरै क्षेत्रमा कर्जा विस्तार गर्न नसकिरहेको अवस्थामा सुनचाँदीतर्फ भने कर्जा विस्तार बढ्दै गएको हो ।
उपभोक्ताहरू आफूसँग भएको सुन बेच्नुभन्दा पनि अहिले धितो राखेर कर्जा लिनेतर्फ आकर्षित भइरहेका छन् । साथै व्यवसायीले पनि आफूसँग भएको सुन धितोमा राखेर कर्जा लिइरहेका छन् ।
गत वर्षदेखि नै सुनको भाउमा उच्च वृद्धि भइरहेको छ । बिहीबार मात्रै पनि सुनको मूल्य १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ । जुन सर्वाधिक उचाइमा पुगेको मूल्य हो ।
यसरी मूल्य बढ्दै जाँदा बैंकहरूले सुन–चाँदीको धितोमा दिने कर्जा रकम पनि बढेको हो । भ्यालुएसन बढ्दा कर्जाको मात्रा पनि बढ्न सक्छ ।
अन्य ऋणको तुलनामा सुनचाँदी कर्जालाई ग्राहकहरूले वित्तीय आवश्यकता पूरा गर्ने छिटो र सहज माध्यमका रूपमा लिने गरेकाले पनि अहिले कर्जा बढी विस्तार भएको व्यवसायी बताउँछन् ।
यस्तै, सर्वसाधारणले पनि सुनलाई सुरक्षित लगानी मान्ने गरेका छन् । यसैकारण सुनका गरगहना बनाउने र आवश्यक पर्दा यसैलाई धितोका रूपमा राखेर कर्जा लिने चलन बढिरहेको छ । बैंकहरूले पनि सुनचाँदीलाई सुरक्षित धितोका रूपमा स्वीकार गरेर कर्जा प्रवाह गर्दै आएको पाइन्छ । यसैकारण सुनचाँदी धितो राखेर कर्जा प्रवाह गर्ने क्रम बढेको हो ।
मूल्यसँगै कर्जा अझै बढ्ने
सुनको मूल्य बढ्दै जाँदा कर्जा पनि सँगसँगै बढ्दै जाने देखिएको सुनचाँदी व्यवसायी बताउँछन् । अहिले व्यवसायीहरूले पनि सुनचाँदी बेच्नेतर्फ भन्दा पनि किनेर ‘होल्ड’ गर्ने काम गर्दै आएका छन् ।
उसो त सुनको बिक्री सुस्ताइरहेका बेला व्यवसायीले ऋण लिएरै भए पनि सुन होल्ड गर्दै आएका हुन् । आगामी दिनमा पनि अर्थतन्त्रको अवस्था यस्तै रहँदा सुनचाँदीतर्फ कर्जा क्रमशः बढ्ने व्यवसायीहरू बताउँछन् ।
उनीहरूका अनुसार, कतिपयले सुनको मूल्य बढ्दा ऋण लिएरै भए पनि सुन किनिरहेका छन् । तर, सुन धितोमा राखेर कर्जा लिनेहरूको अवस्था अर्थतन्त्र नसुध्रिँदासम्म नघट्ने व्यवसायीहरूको बुझाइ छ ।
प्रतिक्रिया