बाँके । ‘यो खेती सफल हुँदैन !’ धेरैले भने । तर सर्पराज बस्नेतले तिनै शङ्कालाई चुनौती दिँदै बाँकेमा पहिलो पटक व्यावसायिक रूपमा स्ट्रबेरीखेती सुरु गरे, र पहिलो वर्षमै पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल भए ।
कृषिमा नयाँ प्रयोग गर्ने सोचले उनले बैजनाथ गाउँपालिका–१ च्यामामा ५.५ कट्ठा जग्गामा सात लाख रुपैयाँको लगानीमा स्ट्रबेरीखेती थाले। बाँकेजस्तो गर्मी हुने क्षेत्रमा यो सम्भव छ भन्ने कुरा प्रमाणित गर्दै उनले जैविक विधिबाट उत्पादन गरेका स्ट्रबेरीहरू नेपालगञ्ज, कोहलपुर र सुर्खेतसम्म बिक्री गरिरहेका छन् ।
स्वास्थ्यलाई ध्यानमा राख्दै उनले रासायनिक मलको साटो गोठे मल, झोल मल, तितेपाती, निमको पात र गाईको पिसाब प्रयोग गर्छन् । कीटनाशक औषधिहरूभन्दा प्राकृतिक झारपात प्रयोग गर्दा फल गुणस्तरीय, स्वादिलो र स्वस्थ रहन्छ ।
स्ट्रबेरीखेती सामान्यतया असोज महिनामा सुरु गर्नुपर्छ, तर सर्पराजले दुई महिना ढिलोगरी मंसिरमा बिरुवा रोप्दा पनि राम्रो उत्पादन लिन सके। गत माघदेखि बिक्री सुरु भइसकेको उनको स्ट्रबेरी प्रतिदिन २०–२५ किलो बिक्री भइरहेको छ ।
हालसम्म उनले ९ क्विन्टल स्ट्रबेरी बेचिसकेका छन्, जसबाट पाँच लाख रुपैयाँ आम्दानी भएको छ । बजारमा खुद्रामा प्रतिकिलो ७०० रुपैयाँ र थोकमा ६०० रुपैयाँमा बिक्री भइरहेको छ ।
सफलता मात्र होइन, चुनौती पनि
‘गर्मी बढ्दै जाँदा बिरुवा जोगाउन गाह्रो हुन्छ ।’ बस्नेत भन्छन्, ‘अब अर्को वर्षका लागि कसरी बिरुवा तयार गर्ने भन्ने योजनामा छु ।’
तर यी चुनौतीहरू पनि उनको आत्मविश्वास कम गर्न सकेनन्। आलोचकहरूलाई गलत साबित गर्दै उनले ‘बस्नेत कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरी आफ्नो व्यवसायलाई औपचारिकता दिए ।
उनको विश्वास छ, ‘माटो परीक्षण गरी सुहाउँदो बिरुवा लगाइ मेहनत गरे जुनसुकै खेती सफल हुन सक्छ ।’
स्ट्रबेरीखेती नेपालमा नौलो भए पनि यसको माग बढिरहेको छ। सही प्रविधि अपनाएमा यो उच्च आम्दानी दिने व्यवसाय बन्न सक्छ । सर्पराज बस्नेतको सफलताले बाँकेका अरू किसानहरूलाई पनि नयाँ सोच अपनाउन हौसला दिएको छ।
स्ट्रबेरीलाई नेपालीमा ‘भुइँ काफल’ पनि भन्ने गरिन्छ। राम्रो घाम र सिँचाइको सुविधा हुने ठाउँमा यसको खेती फलदायी हुन सक्छ । सर्पराजको अनुभवले देखाएको छ, ‘सही सोच, मेहनत र लगन भए नयाँ प्रयोगबाट पनि सफलता पाइन्छ ।’
प्रतिक्रिया