काठमाडौँ । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेश शाखामा लघु, साना तथा मझौला उद्यम र उपभोक्ता ऋण केन्द्र उद्घाटन गरेको छ । प्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्ता वर्गलाई लक्षित गरी एसएमई एन्ड कस्टोमर बैंकिङ हब गण्डकीको स्थापना गरेको हो ।
केन्द्रको उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उनले कार्यक्रममा बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले उक्त केन्द्रले उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए ।
एसएमई एन्ड कस्टोमर बैंकिङ हब गण्डकी मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । यसले लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा प्रदान गर्नेछ ।
उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि ऋण योजना उपलब्ध हुनेछ । कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।
एसएमई एन्ड कस्टोमर बैंकिङ हब गण्डकीले व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण, वित्तीय परामर्श सेवा र द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया जस्ता सेवाहरु प्रदान गर्नेछ ।
प्रतिक्रिया