काठमाडौँ । अमेरिकी अटोमेकर कम्पनी फोर्डले भारतस्थित उत्पादन प्लान्ट बन्द गरेपछि त्यसको असर नेपालको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्समा देखा परेको छ ।
सन् २०२१ को सेप्टेम्बर ९ तारिखमा अटोमेकर कम्पनी फोर्डले भारतमा उत्पादन प्लान्ट सञ्चालन गर्दा २ अर्ब अमेरिकी डलर घाटा भएको जनाउँदै प्लान्ट बन्द गर्ने निर्णय गरेको थियो । प्लान्ट बन्द भएको ३ वर्ष बितिसक्दा पनि त्यसको बाछिटा जिओ अटोमोबाइल्सले हालसम्म भोगिरहेको छ ।
पछिल्लो चार वर्षमा कम्पनीले गरेको सञ्चालन आम्दानी विश्लेषण गरी भारतमा फोर्डको प्लान्ट बन्द हुँदा परेको असर नियाल्न सकिन्छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको जिओ अटोमोबाइल्सको विवरणका अनुसार सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ४४ करोड २० लाख रुपैयाँ रहेको छ । यस्तै सन् २०२२ मा कम्पनीको कारोबार १ अर्ब ६५ करोड ५२ लाख रुपैयाँमा खुम्चिएको छ ।
यसरी सन् २०२१ को अन्तयमा फोर्डले भारतस्थित उत्पादन प्लान्ट बन्द गर्ने निर्णय गरेपछि सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७९ करोड रुपैयाँले खुम्चिएको छ । यो क्रम हालसम्म पनि यथावत् नै रहेको छ । सन् २०२३ मा कम्पनीको सञ्चालन आम्दानी ८२ करोड ९० लाख रुपैयाँमा सिमित थियो भने सन् २०२४ मा ८३ करोड ७० लाख रुपैयाँ रहेको छ । यसरी सन् २०२१ देखि २०२४ सम्मको आम्दानी तुलना गर्दा कम्पनीको कारोबार रकम दुई अर्ब ६० करोड ५० लाख रुपैयाँ अर्थात् ७५.६८ प्रतिशतले घटेको छ ।
फोर्डको हाइ– इन्ड पिकअप सेग्मेन्ट जस्तै रेन्जर, एभरेष्टको बिक्री गर्दै आएको छ । भारतस्थित प्लान्ट बन्द भएपछि हाल थाइल्यान्डबाट कम्पनीले फोर्डका गाडीहरु नेपाल भित्र्याएको छ । सन् २०२४ मा रेन्जर र एभरेष्ट मोडलबाट मात्रै कम्पनीले कुल सञ्चालन आम्दानीको ६१ प्रतिशत आम्दानी गरेको छ । एकातिर भारतमा उत्पादन प्लान्ट बन्द हुनु र अर्कोतर्फ टोयोटा, मित्सुबिसीजस्ता हाइ– इन्ड ब्रान्डसँग प्रतिस्पर्धा कम्पनीका लागि चुनौती बनेको इक्रानेपालले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
व्यापारिक घराना गोल्छा ग्रुपको लगानी रहेको जिओ अटोमोबाइल्सले सन् २०२४ को डिसेम्बरमा कम्पनीले चिनियाँ विद्युतीय अटोमेकर कम्पनी केई ब्रान्डलाई नेपाल भित्र्याएको छ । यसरी कम्पनीले हाइ–इन्ड पिकअप सेग्मेन्ट मात्र नभई विद्युतीय सवारीसाधनको बिक्री वितरण समेत सुरु गरेको छ । नेपालमा फस्टाइरहेको इभि बजारमा केई ब्रान्डले ओरालो लागिरहेको कम्पनीको कारोबारको ग्राफलाई सुधार गर्न सक्ने अवसर समेत भएको इक्रा नेपालले जनाएको छ ।
हाल कम्पनीको ह्रासकट्टी, परिशोधन, ब्याज र कर अघिको नाफा सञ्चालन आम्दानीको तुलनामा ५.१ प्रतिशतले ऋणात्मक रहेको छ ।
कम्पनीले ७१ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीको वित्तीय विवरण विश्लेषणका आधारमा रेटिङ एजेन्सी इक्रा नेपालले १४ करोड रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ५७ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।
गोल्छा ग्रुपको लगानी रहेको जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा रहेका छन् ।
प्रतिक्रिया