१४ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा, २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर सञ्चित


काठमाडौं । १४ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पुग्ने गरी विदेशी मुद्राको सञ्चिति भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिलाई आयात धान्ने गरी चालु आर्थिक वर्षको आठ महिनासम्ममा विदेशी विनिमय सञ्चिति १७ अर्ब २७ करोड डलर कायम भएको छ । यो रकम नेपाली रुपैयाँमा रुपान्तरण गर्दा २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ हुन आउँछ ।

राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा यस्तो सञ्चिती २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । यो अवधिमा कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा विदेशी मुद्राको सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा फागुन मसान्तमा १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड डलर पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तमा १५.२ प्रतिशतले बढेर २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा ४४.९ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ ।

फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१।८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाई छ ।

फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२.२ प्रतिशत, ११९.४ प्रतिशत र ३३ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा यस्ता अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए ।

प्रकाशित मिति: २७ चैत २०८१, बुधबार  १८ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।