जलविद्युत कम्पनीलाई बिजुली उत्पादन सुरु गरेपछि मात्र आइपिओमा जान सुझाव, “गैरआवासीय नेपालीलाई सेयर कारोबार गर्न देउ”


जलविद्युत कम्पनीहरुलाई जलविद्युत उत्पादन सुरु गरेपछि मात्र सर्वसाधारणमा सेयर निष्काशन गर्न सुझाव दिइएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले शुक्रबार बुझाएको प्रतिवेदनले सरकारलाई यस्तो सझाय दिएको हो ।
शुक्रबार आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको प्रतिवेदनमा गैर आवासीय नेपालीलाई दोस्रो बजारमा सेयर किनबेच गर्न बाटो खोल्न सुझाव दिएको छ ।

“दोस्रो बजारमा गैर आवासीय नेपालीलाई कारोवार गर्न अनुमति दिने । यसको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ दफा ९ र १० परिमार्जन गरी गैर आवासीय नेपालीको हकमा पुँजी लगानी कोष खडा नगरिकन व्यक्तिगत रुपमा नै गैर आवासीय नेपाली नागरिकता परिचय पत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गर्ने । लगानीकर्ताले दोस्रो बजारमा सेयर खरीद गर्न भित्र्याएको रकमको एक वर्षमा दुई पटक पचास प्रतिशतसम्म रकममात्र फिर्ता लान सक्ने व्यवस्था गर्ने,” प्रतिवेदनमा भनिएको छ ।

आयोगले अहिले दोस्रो बजारमा हुने सेयर कारोबारमा लाग्ने शुल्क संशोधन गरी ठुलो रकमको कारोबारमा लाग्दै आएको शुल्क घटाउन पनि सरकारलाई सुझाव दिएको छ ।

पुँजीबजार सम्बन्धी जनचेतना जगाई पुँजीबजारबाट वित्तीय साधन परिचालन गरेर लगानी प्रर्वद्धन गर्न सुझाएको आयोगले सरकारी ऋणपत्रको दोस्रो बजार कारोवार हुने व्यवस्था तत्काल सुरु गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति: २९ चैत २०८१, शुक्रबार  १८ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।