काठमाडौं । नयाँ वर्ष नयाँ जोस र जागर लिएर आएको हुन्छ । नयाँ वर्षमा नयाँ ठाउँ घुम्न मन नपराउने सायदै कमै होलान् । न जाडो, न गर्मी । घुमफिर गर्नका लागि यतिबेलाको मौसम निकै उपयुक्त मानिन्छ । सबैतिर हरियाली नयाँ पालुवा पलाउँदै गरेको वातावरण (वसन्त ऋतु) भएकोले पनि यतिवेला धेरै ठाउँले लोभ्याउने गर्दछ । तर, एकदिनमा नै घुमेर फर्किने ठाउँको बारेमा जानकारी नहुँदा सास्ती खेप्नुपर्ने अवस्था समेत आउँछ । यी हुन् नयाँ वर्षमा घुम्न तथा हाईकिङ गर्न रमाउनेहरुमा लागि उत्कृष्ट गन्तव्यहरु ।
१. फुल्चोकी
फुल्चोकी ललितपुर जिल्लामा पर्दछ । यो काठमाडौं उपत्यकाको दक्षिण पुर्वी भागमा अवस्थित एक प्रसिद्ध डाँडा हो । यसको उचाई समुद्री सतहबाट २ हजार ७६२ मिटर रहेको छ । साथै यो उपत्यकाको सबैभन्दा अग्लो डाँडा पनि हो । फुल्चोकीमा नेपालको मध्य पहाडी भागमा पाईने विभिन्न प्रजातीका गुराँस पाइँछन् । यो ठाँउ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँ विभिन्न किसिमका चराचुरुंगी वनस्पति र हिमालहरुको साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । फुल्चोकीले धार्मीक महत्व पनि राख्छ, यहाँ हरेक वर्ष फुल्चोकी देवीको मन्दिरमा मेला लाग्ने गर्छ । यो ट्रेकिङ र हाईकिङ गर्न चाहानेहरुका लागि उत्कृष्ठ गन्तव्य हो ।
२. जामाचो
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने जामाचो पनि हाईकिङ गर्न चाहनेहरुका लागि लोकप्रीय ठाँउ हो । यो काठमाडौं उपत्यकाको उत्तरपश्चिमी भागमा पर्छ । हाईकिङको सुरुवाती बिन्दु फुलबारी गेट वा आर्मी क्याम्पमा ५० रुपैयाँको टिकट काटेर, २, ३ घण्टाको उकालो सिढि, गोरेटो बाटो हूँदै जानुपर्छ । यहाँ जंगलमा फुलेका लालीगुँरास सुन्दर प्रकृति शान्त र आनन्दित वातावरणको आन्नद लिन सकिन्छ । डाडाँको टुप्पोमा जामाचो गुम्बा र भ्यु टावर रहेको छ । यहाँबाट काठमाडौं उपत्यकाका साथै लाङटाङ, गणेश, मनास्लु र अन्नपुर्ण हिमश्रुङखलाहरुको दृश्यको मजा लिन सकिन्छ ।
३. भोटेचौर
समुद्री सतहबाट १६०६ मिटर उचाईमा रहेको भोटेचौर मिनी इलामका नामले पनि चर्चित छ । चाबहिलबाट ३८ किलोमिटरको यात्रामा पुग्न सकिने भोटेचौर सिन्धुपाल्चोक जिल्लमा पर्छ । पारितिर शिवपुरी निकुञ्जको हरियो वन, वारितिर अर्को पहाड बिचमा चियाबगान मनै आन्नदित बनाउने र नयाँ पलाउदै गरेका चियाका टुसाले सिंगारिएको छ । चियाबगानको बिचबाट बनेको सडक र चारैतिर बिच बिचमा बनाइएका हिँड्ने बाटाहरुले यो ठाउँलाई झनै सुन्दर बनाएको छ । यहाँ निशुल्क प्रवेश रहेको छ ।
४. चिल्लाङ (इन्द्रसरोवर)
काठमाडौंको थानकाटबाट करिब एक घण्टा बसको यात्रा गरी पुगिने चित्लाङ पनि रमणीय गन्तव्य हो । काठमाडौंबाट थानकोट पुगेपछि उकालोको नागबेली सडक र चन्द्रागीरीको डाँडो छिचोले पछि देखिन्छ रमणीय चित्लाङ गाँउ ।
चित्लाङमा रहेको भेडा फम र तल फेदमा रहेको ईन्द्रसरोवरले सबैलाई मोहित बनाउँछ । इन्द्ररोवरमा बोटिङ पनि गर्न सकिन्छ । विशेष गरि बोटिङ गर्नकै लागि यहाँ मानिसहरु जाने गर्छन् । बोटिङ गर्नको लागि आधा घण्टाको दुई सय रुपैयाँ लाग्छ ।
५. सुन्दरीजल
काठमाडौँबाट उपत्यकाको उत्तर पुर्वमा अवस्थीत प्राकृतीक सुन्दरताले भरिपुर्ण ठाँउ हो सुन्दरीजल । नाम जस्तै विशेषताहरु पनि भएको हाईकिङ तथा घुम्न जानेहरुका लागि यो पनि उत्कृष्ठ ठाँउ हो । सुन्दरीको अर्थ सुन्दर राम्रो र जल को अर्थ पानी हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने सुन्दरीजल प्रवेश गर्न ५० रुपैयाँ टिकट लाग्छ । सुन्दरीजल पुगेपछि वागद्धार धाप ड्यामको पनि प्राकृतीक सौन्दर्यको आन्नद लिन सकिन्छ । यो धार्मिक आस्थाको केन्द्र पनि हो यहाँ सुन्दरीमाईको मन्दिर पनि रहेको छ ।
६.नगरकोट
पछिल्लो समय घुम्ने जानेहरुको रोजाईमा पर्ने अर्को गन्तव्य नगरकोट । यहाँबाट सूर्योदय र सुर्यास्तको रमाईलो दृश्य पनि अवलोकन गर्न सकिन्छ । काठमाडौंको कोलाहलबाट शान्ति पाउने उत्कृष्ट ठाँउ नगरकोट हो ।
प्राकृतिक सुन्दरताले भरिपुर्ण यो ठाँउबाट विश्वको सर्वाेच्च शिखर सगरमाथासँगै धौलागिरि, कञ्चनजङ्गा, मनास्लु, गणेश, लाङटाङ, गणेश, गौरीशंखर चोयु, ल्होत्से मकालु हिमालहरुको साथै काठमाण्डौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।
७. ककनी
काठमाडौंबाट घुम्न जाने नजिकका गन्तव्यहरु मध्ये अर्को एउटा स्थान हो ककनी । ककनी प्राकृतीक धार्मिक र ऐतिहासिक दृष्टिले महत्त्वपर्ण ठाँउ हो । शिवपुरीको सुन्दर जङ्गल छिचाल्दै जानुपर्ने ककनी यो जङ्गलको छेउमै अवस्थीत छ । यहाँ स्ट्रबेरी खेती माछा पालन हेर्नका साथै बसन्ती दरबार र रुम्बा दरबारको अवलोकन गर्न सकिन्छ । स्वादिलो माछा आफै मारेर खानको लागि पनि पर्यटकहरु यहाँ पुग्ने गर्छन् ।
८. चोभार
चोभार पनि काठमाडौंको उपत्यकाको एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यहाँ एसियाको लामो गुफा मञ्जुश्री छ । यहाँबाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको अवलोकन पनि गर्न सकिन्छ । यहाँ ३३ फिट अग्लो मञ्जुश्रीको मुर्ति पनि रहेको छ ।
९. भक्तपुर
नयाँ वर्षमा छुटाउँनै नहुने अर्को गन्तव्य हो भक्तपुर । यहाँ विभिन्न धार्मिक गन्तव्य रहेका छन् । भक्तपुर पुरानो सहर हो । १८ औं शताब्दीमा भुपतिन्द्र मल्लले निर्माण गरेको भक्तपुरको पाँच तले मन्दिर एउटा राम्रो पर्यटकीय स्थान हो । यस्तै, त्यहाँ दरबार स्क्वायर, सिद्धपोखरी, नमग पोखरी, ५५ झ्याले दरबार जस्ता ऐतिहासिक र पुरात्वातिक महत्व बोकेका स्थानहरु छन् । यहाँ अठारौं शताब्दीका विभिन्न वास्तुकलाहरुको अवलोकन गर्न सकिन्छ । यहाँ नौ मुख र १८ हात भएको अनौठो वास्तुकलाको मुर्ति देख्न सकिन्छ ।
१०.धुलिखेल
काठमाडौं उपत्यकाबाट नजिकैको पर्यटकीय गन्तव्य हो धुलिखेल । यो सार्वजनिक यातायातमा पनि सजिलै पुग्न सकिन्छ । विशेषतः यहाँको हजार सिँढी चढ्न पर्यटकहरु पुग्ने गर्छन् । एक हजार सिँढी नसकिदै बिचमा रहेको विशाल बुद्धको मुर्ति छेउमा शान्ति वनमा विश्राम गर्न सकिन्छ । यहाँबाट सुन्दर डाँडाकाँडाको दृश्य हेर्दै सुन्दर शान्त र आन्नदित वातावरणमा रमाउन सकिन्छ । हजार सिढीँ चढी सकेपछि बादल माथिबाट तलको धर्तिको दृश्य हेर्दा र बादलले त्यहाँका रुखहरुलाई ओढाएको देख्दा मनै लोभ्याउने गर्दछ ।
प्रतिक्रिया