गुल्मी । नयाँ वर्ष २०८२ को अवसरमा गुल्मीको ‘रेसुंगा पार्क’ आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ ।
प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको पर्यटकीय स्थलमा नयाँ वर्ष मनाउने पर्यटकको संख्या वृद्धि भएको हो ।
रेसुंगा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार वैशाख १ गते मात्रै २ हजार बढी आन्तरिक पर्यटकले रेसुंगा पार्क अवलोकन गरेका छन् । जसबाट करिव ६० हजारबढी राजस्व पनि संकलन भएको छ ।
पछिल्ला वर्षहरूमध्ये एकै दिनमा सर्वाधिक हो । पार्कमा भीड व्यवस्थित गर्न अतिरिक्त कर्मचारी परिचालन गरिएको थियो । रेसुंगा पार्कमा भ्यू टावर, झूला (पिङ), पिकनिक ट्रस, फोटोग्राफी जोन, प्ले जोन र अन्य रमणीय संरचना पर्यटकहरूको मुख्य आकर्षण बनेका छन् ।
साथै पार्कमा पैदल मार्ग, विश्रामस्थल, शौचालय, पार्किङ सुविधा, र टिकट काउन्टर लगायतका पूर्वाधारसमेत विस्तार गरिएको छ । नागरिकको सहज पहुँचका लागि प्रवेश शुल्क नेपालीहरूका लागि ५० रुपैयाँ, विदेशी नागरिकका लागि १५० रुपैयाँ तथा विद्यार्थी र ज्येष्ठ नागरिकका लागि २५ रुपैयाँ तोकिएको छ ।
पार्कमा जीप लाइन, साइक्लिङ ट्र्याक, र थप मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । नयाँ वर्षको सुरुवातमा प्रकृतिसँग आत्मीयता गाँस्ने रहर बोकेका नागरिकहरूका लागि रेसुंगा पार्क उत्कृष्ट गन्तव्य बन्न सफल भएको छ ।
जिल्लाको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगाको काखमा रहेकोले पार्कमा पुग्नेको दिनहु बढ्दै गएको छ । पार्कसँगै रेसुंगा क्षेत्र पनि अवलोकन कर्ता पुगेका थिए ।
जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ । त्यस स्थानसम्म पुग्ने मोटरबाटो समेत कालोपत्रे भएको छ ।
तम्घास आउने पर्यटकलाई रेसुंगासम्म जाने क्रममा बीचमा थप आकर्षक बढाउनको लागि रेसुंगा पार्क बनाइएको हो । रेसुंगा नगरपालिकाले ‘जाउ हिँड रेसुंगा’ अभियान पनि चलाएको छ ।
सोही अभियानकै कारणले रेसुंगा र पार्क घुम्न जानेको संख्यामा वृद्धि हुँदै आएको छ ।
प्रतिक्रिया