बर्दिया । तराईमा बढ्दै गरेको गर्मीसँगै तर्बुजाको व्यापार पनि फस्टाउँदै गएको छ । तर्बुजाको व्यापारबाट तराई क्षेत्रमा राम्रो आम्दानी गर्नेहरू पनि छन् जसले गर्दा जीवन निर्वाहमा समेत टेवा पुगेको देखिन्छ ।
बर्दिया गुलरिया नगरपालिका ४ का ५८ वर्षीय बालकृष्ण थारू हरेक दिन बिहान ७ देखि ९ बजेसम्म मोटरसाइकलमा तरभुजा बिक्री गर्छन् भने दिउँसो एभरेष्ट बैंक लिमिटेडको सवारी चलाछन् । त्यसपछि साँझ ६ बजेदेखि उनी फेरी खेतबारीमा व्यस्त छन् ।
उनले आफ्नो जागीरसँगै सिजन अनुसार कृषि पेसामा रमाइराखेका छन् । बेचेपुर निवासी बालकृष्णले गर्मीको मौसममा जागिरसँगै तर्बुजा र सिजन अनुसार तरकारीको व्यापार गर्दै आएका छन् । आफ्नो खेतबारीमा लगाएको तर्बुजा सिजनभरी बिक्री गरेर उनले राम्रो आम्दानी गर्छन् । तर्बुजाको व्यापार गर्दै आएका बालकृष्णले गर्मी मौसममा ४ देखि ५ लाख रुपैयाँसम्मको तर्बुजा बिक्री गर्ने गरेको बताउछन् ।
जागिरसँगै तर्बुजाको व्यापार ‘दिउँसो कार्यालयको गाडी चलाउँछु, बचेको समयमा खेतबारीमा लगाउछु । बिहान खेतबारीमा लगाएको तर्बुजा मोटर साइकलमा राखेर गुलरिया बजारमा बिक्री गर्दा प्रत्येक दिन २ हजार जतिको व्यापार हुन्छ । सिजन भरिमा ४ देखि ५ लाखको व्यापार भए नाफा पनि मनग्य हुन्छ ।’ थारूले भने ।
लगानी पनि थोरै भए पुग्ने र कृषि पेसाबाट आम्दानी पनि हुने देखेर यो पेसा रोजेको उनको भनाइ छ । ‘मेरो जागिर एभरेष्ट बैंकको हो । म साँझ फर्कदा ढिलै हुन्छ, तर पनि मैले यो व्यवसाय ५ वर्षदेखि गरिरहेको छु । मैले सोचेभन्दा राम्रो आम्दानी पनि पाएको छु ।’ उनले भने । बालकृष्णले आफ्नो आम्दानीले १५ जनाको परिवारलाई पालनपोषण समेत गर्दै आएका छन् ।
प्रतिक्रिया