बैंकहरूको वित्तीय विवरणमा सामान्य सुधार, सुध्रनुको खास कारण के ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिँदा त्यसको प्रभाव बैंकको नाफामा परेको छ ।
वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार, बैंकहरूको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० वाणिज्य बैंकहरुले कुल ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा १.४० प्रतिशत मात्र बढी हो । गत आवको सोही अवधिसम्ममा यी बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

११ बैंकको खुद नाफा बढ्दा ९ बैंकको घट्यो

तेस्रो त्रैमासमा ११ बैंकहरुको खुद नाफा बढ्दा ९ बैंकहरुको घटेको छ ।

यस्तै नबिल बैंकले ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । गत आवको तुलनामा यस बैंकले ८.२१ प्रतिशत नाफा बढाएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंक दुबैले साढे ४ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन् । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले खुद नाफा ३८.६१ प्रतिशत बढाएको छ भने ग्लोबल आइएमईले ३७.१२ प्रतिशत बढाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत मसान्तसम्म ४ अर्ब ५४ करोड नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

ग्लोबल आइएमई बैंंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा सबैभन्दा बढी नाफा बढाउन सफल बैंक नेपाल बैंक लिमिटेड रहेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा १३ करोड ५ लाख रुपैयाँ रहेको सो बैंकको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ हजार ३२.८० प्रतिशत बढेर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ छ ।
एनएमबि बैंकको नाफा चैत मसान्तसम्म ५.८८ प्रतिशतले बढेर २ अर्ब ३७ करोड ३२ लाख ८९ हजार रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब २४ करोड १५ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

प्रभु बैंकको नाफा ३.५१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड ६० लाख ६० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

सानिमा बैंकको १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ४३ करोड ९४ लाख ४२ हजार रुपैयाँ रहेको थियो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा बैंकको नाफा १४.८० प्रतिशतले बढेको हो ।

सबैभन्दा कम वृद्धिदर भने लक्ष्मी सनराइज बैंकको रहेको छ । सो बैंकको खुद नाफा समीक्षा अवधिमा २.२४ प्रतिशत बढेको छ । बैंकको नाफा चालु आवको तेस्रो त्रैमासमा १ अर्ब ६५ करोड २१ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ थियो ।

नेपाल एसबिआई बैंकको नाफा ३.३६ प्रतिशतले बढेर १ अर्ब २० करोड ३२ लाख ६१ हजार रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब १६ करोड ४१ लाख ७७ हजार रुपैयाँ थियो ।

माछापुच्छ्रे बैंकको नाफा २८.८९ प्रतिशतले बढेर १ अर्ब १० करोड २६लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ८५ करोड ५४ लाख ६४ हजार रुपैयाँ थियो ।
चालु आवको तेस्रो त्रैमासमा एनआइसी एशिया बैंकको खुद नाफा सबैभन्दा बढी घटेको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड ६७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । जुन समीक्षा अवधिमा ९१.८१ प्रतिशत घटेको हो ।

प्राइम बैंकको नाफा २२.५६प्रतिशतले घटेर २ अर्ब २२ करोड ९३ लाख ४ हजार रुपैयाँ छ ।

त्यसैगरी, समीक्षा अवधिमा हिमालयन बैंकको खुद नाफा ७४.३३ प्रतिशत घटेको छ भने कुमारी बैंकको खुद नाफा ७२.८५ प्रतिशत घटेको छ ।

सिद्धार्थ बैंकको नाफा ०.९४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड ८२ लाख ६० हजार, राष्ट्रिय वाणिज्य बैंकको ४९.२९ प्रतिशतले घटेर १ अर्ब २० करोड ४३ लाख ७० हजार रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंकको नाफा २०.६० प्रतिशतले घटेर ९६ करोड १८ लाख ९३ हजार रुपैमा हुँदा, कुमारी बैंकको ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: ७ वैशाख २०८२, आइतबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।