काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारमा रहेका नेपाली र गैर आवासीय नेपालीलाई आम्दानीको केही अंश नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
युएईमा आयोजित नेपाली जनसम्पर्क समितिको नयाँ वर्ष २०८२ को शुभकामना कार्यक्रममा बोल्दै उनले नेपालमा अझै धेरै क्षेत्र एक्सप्लोर गर्न बाँकी रहेको र लगानी गरेमा राम्रो प्रतिफल पाउने सम्भावना रहेको बताए ।
ढकालले हालै सरकारले गरेका कानुनी सुधारले लगानीमैत्री वातावरण निर्माण भएको भन्दै निजी क्षेत्रको सक्रियतामा १० अर्ब रुपैयाँ पूँजीसहित “नेपाल डेभलपमेन्ट कम्पनी” स्थापना गरिएको जानकारी दिए ।
उक्त कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको छरिएर रहेको पूँजी संकलन गरी जलविद्युत्, पर्यटन, उद्योगलगायत सम्भावना भएका क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको छ ।
‘हामीले साना–साना पूँजी संकलन गरेर आफ्नै लगानीबाट ठूला पूर्वाधार परियोजनामा पनि लगानी गर्न सक्छौं,’ ढकालले भने, ‘विदेशी लगानी बिना विकास सम्भव छैन भन्ने सोच बदलिनुपर्छ ।’
उनले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमै रोजगारी, उत्पादन र राजस्व वृद्धिमा सहयोग पुर्याउन आग्रह गर्दै लगानीको प्रतिफलले भविष्यमा उनीहरुको जीवन सहज बनाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया