काठमाडौँ — मुक्तिनाथ फुड बैंक लिमिटेडले सेयर निष्कासन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श सेवा सम्झौता गरेको छ। सम्झौतामा फुड बैंकका सञ्चालक मोहन कुमार बस्नेत र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले कम्पनी स्थापनादेखि प्राथमिक सेयर निष्कासन सम्म आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ। साथै, पूँजी संरचना परिवर्तन, हकप्रद सेयर, पूँजी संकलनलगायत प्रक्रियामा पनि सहकार्य गर्ने कम्पनीले जनाएको छ ।
फुड बैंकले यही बैशाख १७ गते विशेष साधारण सभा आह्वान गरी हकप्रद सेयरमार्फत आ.व. २०८१/८२ भित्र चुक्ता पूँजी ४० करोड पुर्याउने र २०८२/८३ भित्र आइपीओ ल्याउने योजना सार्वजनिक गरेको छ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनीको रूपमा २०७९ मा स्थापित मुक्तिनाथ फुड बैंकले नेपालमै उत्पादित गुणस्तरीय खाद्य वस्तु उत्पादन, प्रशोधन र बजारीकरणमार्फत उपभोक्ता हित र कृषकको बजार सुनिश्चिततामा काम गर्दै आएको छ।
प्रतिक्रिया