शिक्षामन्त्रीले दिइन् राजीनामा, आज मन्त्री परिषद्को बैठक बस्दै


काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै २० दिनदेखि निरन्तर आन्दोलनरत शिक्षकहरूसँगको संवाद असफल भइरहँदा शिक्षामन्त्री विद्या भट्टराईले आज राजीनामा दिएकी छिन् । शिक्षामन्त्री विद्या भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा दिएको उनको सचिवालयले जनाएको हो ।

राजीनामा दिँदै भट्टराईले सरकारलाई शिक्षक आन्दोलनसँग गम्भीरतापूर्वक संवाद गर्न र संविधानमा सुनिश्चित शिक्षाको भावनालाई आत्मसात् गर्न आग्रह गरेकी छिन् ।

शिक्षामन्त्रीको राजीनामासँगै अब मन्त्रिपरिषद् बैठकबाट शिक्षकहरूको मागमाथि के निर्णय लिनेछ भन्ने अन्योलता बढेको छ ।

संविधानमा सुनिश्चित गरिएको ‘निःशुल्क र अनिवार्य शिक्षा’ को सिद्धान्तलाई कार्यान्वयन गर्न मन्त्री भट्टराईले निरन्तर जोड दिँदै आएकी थिइन् । तर उनका अनुसार प्रधानमन्त्री स्वयंले सार्वजनिक कार्यक्रमहरूमा त्यस सिद्धान्त विपरीत अभिव्यक्ति दिने गरेका थिए ।

पार्टी बैठकहरूमा समेत उनले यो विषयमा आफ्नो असन्तुष्टि स्पष्ट रूपमा व्यक्त गरेकी थिइन् । ‘विद्यालय शिक्षा विधेयकुमा प्रधानमन्त्रीको ‘जथाभाबी’ धारणा र अभिव्यक्तिले मन्त्रालयको नीति निर्माणमा हस्तक्षेप भएको उनको बुझाइ छ ।

शिक्षा नीतिका सवालमा नेतृत्वस्तरमै विवाद देखिँदा यसको असर विद्यालय शिक्षाको भविष्य र शिक्षक आन्दोलनको समाधान प्रक्रियामा कस्तो पर्छ भन्ने विषयमा चासो बढेको छ ।

प्रकाशित मिति: ८ वैशाख २०८२, सोमबार  १८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।