विदेशमा सिकेको सिप स्वदेशमै प्रयोग गर्नुपर्छ : अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै उपयोग गरी रोजगारी र आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ मा सम्बोधन गर्दै उनले दीर्घकालीन योजना, स्थिर नेतृत्व, र सम्भावनाको विविधीकरणमार्फत नेपाललाई समृद्ध बनाउन सकिने बताए ।

अध्यक्ष ढकालले ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधिजस्ता क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सके रोजगारी सिर्जना र समग्र आर्थिक विकासमा टेवा पुग्ने बताए ।

नेपालको कला, संस्कृति र परम्पराको प्रचारप्रसारमा अन्तर्राष्ट्रिय महोत्सवहरू प्रभावकारी हुने उल्लेख गर्दै ढकालले यूएईसँगको आर्थिक सम्बन्ध सुदृढ बनाउन महासंघ कटिबद्ध रहेको बताए ।

उनले २०२३ मा आयोजित नेपाल–दुबई व्यवसायिक फोरमको स्मरण गर्दै उक्त फोरमले दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याएको जिकिर गरे ।

प्रकाशित मिति: ८ वैशाख २०८२, सोमबार  १८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।