कुकुर परिचालन गरेर एकवर्षमा ४२ करोडको भन्सार छलीका सामान बरामद


पर्सा । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साको सक्रियता बढाएसँगै छिमेकी मुलुक भारतबाट भन्सार छलीका सामान बरामद हुने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार ७०७ रुपैयाँको अवैध तथा शङ्कास्पद मालसामान बरामद गरेको जानकारी दिए  ।

“सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ”, उनले भने, “ सशस्त्र प्रहरीले वीरगन्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।”

सशस्त्र प्रहरी बलले २०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्म रु २८ करोड ११ लाख छ हजार ४८७ मूल्यका भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किराना सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

त्यसैगरी, सोही अवधिमा १३ करोड ८१ लाख २५ हजार २२० रुपैयाँको बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । गणपति धिमालले सशस्त्र प्रहरी बलले जिल्लामा एक सय सात किलोमिटर खुला सीमाको सुरक्षा, सीमानाकामा हुने अवैध चोरीपैठारी निकासी रोकथाम र सीमावासीसँग सशस्त्र प्रहरीलगायतका कार्यक्रम गर्दै आइरहेको जानकारी दिए ।

प्रकाशित मिति: ९ वैशाख २०८२, मंगलबार  ०९ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।