मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती, १८लाख आम्दानी


काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन । पछिल्लो समय उनले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ । मेवा टिपेर बजार पठाउन उनि अहिले व्यस्त छन् ।

तीन बिघामा मेवाखेती गरिरहेका महतोले अहिले ६० टन मेवा बिक्री गरिरहेका छन् । मेवा बिक्रीबाट करिब १८ लाख  रुपैयाँ आम्दानी गरेको उनले बताए । मेवाको बिक्रीमा खासै समस्या नभएको उनको भनाइ छ । उत्पादन भएको मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ । वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो माग गरेअनुसार पठाउँदै आएको उनको भनाइ छ । केही मेवा काठमाडौँ पनि बिक्री गरेको महतोले बताएका छन् ।

गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट बिक्री सुरु गरेका छन् । असोजबाट फल पाक्न थालेकाले बजारमा पठाउँदै आएका छन् । “मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाको माग थियो, तर त्यता पठाइनँ वीरगन्जमै खपत भएको छ”, उनले भने ।

मेवा प्रतिकेजी  ३० देखि ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसान महतोको भनाइ छ । मेवाखेतीमा करिब  १३ लाख को खर्च भएको र यो याममा हालसम्म करिब  पाँच लाख  सम्म फाइदा लिइसकेको उनले बताए । अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनको बिश्वास छ । उक्त समयसम्म करिब  २०–२१ लाख रुपैयाँको मेवा बिक्री हुने उनको अनुमान छ । यसले आम्दानी पनि बढाउने बिह्वास गर्छन ।

मेवाखेतीबाट उनले आम्दानीमात्र लिइरहेका छैनन् , स्थानीय २२ जनालाई कामका आधारमा ज्याला प्रदान गर्नेगरी रोजगारी समेत दिएको जनाएका छन । मेवा लगाएदेखि विभिन्न समयमा यसको गोडमेल गर्ने, मेवा टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब  ९ लाख  रुपैयाँ ज्यालाबापत बुझेको उनको भनाइ छ । कामदारसहित मुख्यगरी कम्पोस्ट मल र बीउमा खर्च हुने उनको भनाइ छ । सुरुमा लगानी गर्दा छ महिनासम्म आम्दानी नहुने हुँदा केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी दिन थाल्ने हुँदा मेवाखेती त्यति गाह्रो पेसा नभएको उनको बुझाइ छ ।

अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको भनाइ छ । हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुनः नयाँ बोट लगाउनुपर्ने उनि बताउछन । उनले रेडलेडी प्रजातिको मेवाखेती गरेका छन् ।

मेवाखेतीका लागि कावासोती नगरपालिकाले  तीन लाखसम्मको अनुदान उपलब्ध गराएको महतोको भनाइ छ । मेवाखेती गर्नुअघि उनले उक्त जग्गामा खरबुजाखेती गरेकाथिए । खरबुजाबाट समेत राम्रो आम्दानी भएको महतोले बताए । कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत रहेका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि अनुकरणीय बनेका छन् । रोजगारीका लागि सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले स्वदेशमा समेत मेहनत गरे राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेका छल । “मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसे, अहिले यहाँ कृषिमा रमाएको छू, आम्दानी ठिकै छ, मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन केही त गर्नैपर्यो”, उनले भने ।

प्रकाशित मिति: ९ वैशाख २०८२, मंगलबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।