चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये ३ हजार १०० करदाताले आफ्नो आय विवरण बुझाएका छैनन् । पुस मसान्तभित्र आय विवरण बुझाई सक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन् ।
कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक मसान्तको ३ महिनाभित्र आय विवरण बुझाउनुपर्ने व्यवस्था छ । पुस मसान्तसम्म विवरण बुझाउँदा जरिवाना नलाग्ने भए पनि अहिलेसम्म उनीहरुले नबुझाएका हुन् । ती करदातालाई कर्मचारी खटाएर विवरण पेस गर्न लगाइएको पौडेलले बताए ।
उनले भने, ‘पुस मसान्तसम्म ४ हजार करदाताले आयकर नबुझाएको भए पनि पछिल्लो ३ महिनामा ९०० करदाताले विवरण बुझाएका छन् ।’ यसका लागि कार्यालयले कर्मचारी खटाएर आय विवरण पेस नगरेका करदाहरुलाई भेट्ने र आय विवरण बुझाउन अनुरोध गर्ने गरेका छन् ।
विवरण नबुझाउँदा शुल्क र ब्याज करदाताले तिर्नुपर्ने भएकाले ब्याजबाट जोगिन करदाताहरुलाई उनले आग्रह गरे । कार्यालयका अनुसार यहाँ ७२ हजार ५६२ करदाता छन् । आय विवरण बुझाउन र कर बुझाउनका लागि करदाता शिक्षा, प्रचारप्रसार, पम्प्लेट वितरण, माइकिङ, संकलन भ्रमण र स्थानीय तहसँग समन्वय लगायतका काम भइरहेका छन् ।
कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ९०.३८ प्रतिशत कर संकलन गरेको छ । गत चैत मसान्तसम्म १६ अर्ब ५८ करोड ३२ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिभित्र राजस्व विभागले १८ अर्ब ३४ करोड ६९ लाख १० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।
गत आर्थिक वर्षको सोही समयमा कार्यालयले १३ अर्ब ९३ करोड ८३ लाख १० हजार राजस्व संकलन गरेको थियो । सो समयमा विभागले १९ अर्ब ८९ करोड ६४ लाख १९ हजार लक्ष्य तोकेको थियो । विभागले तोकेको लक्ष्यको ७०.०५ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो ।
प्रतिक्रिया