काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले फाइनान्सको नाफामा सामान्य सुधार देखाएको छ । गत आवको सोही अवधिमा नोक्सानीमा रहेका फाइनान्सहरुले नाफा बढाउन सफल हुँदा सो सुधार आएको हो ।
फाइनान्स कम्पनीहरुले नाफामा सुधार भएपनि निष्क्रिय कर्जा नियन्त्रण बाहिर गएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार, १० फाइनान्स कम्पनीको नाफामा सुधार आउँदा ५ कम्पनी घाटामा छन् भने दुई वटा फाइनान्स कम्पनीको निष्क्रिय कर्जा ३० प्रतिशत भन्दा माथि पुगेको छ । गत आवको सोही अवधिमा ८ वटा फाइनान्स कम्पनी नोक्सानीमा थिए ।
तेस्रो त्रैमासमा फाइनान्स कम्पनीहरूको नाफा पनि बढेको छ । गत आवमा यी कम्पनीहरूको खुद नाफा १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा उनीहरूको नाफा ३७ करोड ऋणात्मक थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार, गत आवको तेस्रो त्रैमासमा नोक्सानीमा रहेका प्रोग्रेसिभ, पोखरा, गुहेश्वरी, सेन्ट्रल र गुडविल फाइनान्स चालु आवको सोही अवधिमा नाफामा गएका छन् । गत आवको तेस्रो त्रैमासमा नाफामा रहेका बेस्ट र गोर्खाज फाइनान्स चालु आवको सोही अवधिमा नोक्सानीमा छन् ।
चालु आवको तेस्रो त्रैमासमा फाइनान्स कम्पनीमध्ये आईसीएफसीले सबैभन्दा धेरै १९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो कम्पनीले गत आवको सोही अवधिमा ३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत आवको तेस्रो त्रैमासमा १५ करोड ९ लाख रुपैयाँ नाफा कमाएको मञ्जुश्री फाइनान्सले चालु आवको सोही अवधिमा १७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत आवको तेस्रो त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको श्री इन्भेस्टमेन्ट बैंकले चालु आवको सोही अवधिमा ४ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै मल्टिपर्पस फाइनान्सले २ करोड १६ लाख रुपैयाँ नाफा कमाउँदा सेन्ट्रल फाइनान्सले १ करोड ६९ लाख, नेपाल फाइनान्सले १७ लाख रुपैयाँ नाफा कमाएको छ ।
प्रोगेसिभ फाइनान्सले वित्तीय अवस्था सुधार गरेको छ । चालु आवको तेस्रो त्रैमासमा प्रोग्रेसिभ फाइनान्सले ९ करोड ४ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस फाइनान्स ५ करोड ४९ लाख रुपैयाँ नोक्सानमा थियो ।
चालु आवको तेस्रो त्रैमासमा जानकी फाइनान्सले सबैभन्दा धेरै नोक्सानी ब्यहोरेको छ । यस त्रैमासमा जानकी फाइनान्स १७ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा छ । गत आवको सोही अवधिमा यस फाइनान्सले १० करोड ८६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
यस्तै समृद्धि फाइनान्सले चालु आवको तेस्रो त्रैमासमा करोड ५७ लाख रुपैयाँ नोक्सानी व्यहोर्दा गोर्खाजले ६ करोड २१ लाख रुपैयाँ, बेस्टले ७ करोड ५२ लाख रुपैयाँ र रिलायन्स फाइनान्सले १७ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा ४४ प्रतिशतसम्म पुगेको छ । जसमध्ये २ कम्पनीको ३० प्रतिशतभन्दा माथि रहँदा ७ कम्पनीको १० प्रतिशतभन्दा माथि छ ।
३० प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा हुने फाइनान्समा जानकी र पोखरा फाइनान्सको छ । चालु आवको तेस्रो त्रैमासमा जानकी फाइनान्सको ४४.४१ प्रतिशत निष्क्रिय कर्जा छ । गत आवको सोही अवधिमा यस फाइनान्सको निष्क्रिय कर्जा २८.९१ प्रतिशत थियो ।
यस्तै गत आवको तेस्रो त्रैमासमा ७.९१ प्रतिशत रहेको पोखरा फाइनान्सको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा ३१.२५ प्रतिशत पुगेको छ ।
यस्तै गत आव १४.५ प्रतिशत निष्क्रिय कर्जा रहेको गोर्खाज फाइनान्सको अहिले १७.४५ प्रतिशत पुगेको छ । समृद्धि फाइनान्सको १६.४२ प्रतिशत निष्क्रिय कर्जा पुग्दा रिलायन्सको १६.०८ प्रतिशत, बेस्टको ११.४१ प्रतिशत, सेन्ट्रलको १२.०१ प्रतिशत, नेपाल फाइनान्सको ९.६६ प्रतिशत, गुडविलको ८.०७ प्रतिशत पुगेको छ ।
यस्तै प्रोग्रेसिभ फाइनान्सको निष्क्रिय कर्जा ७.१५ प्रतिशत, गुहेश्वरी फाइनान्सको ६.९३ प्रतिशत, मल्टीपर्पसको ५.३६, मञ्जुश्रीको ४.२ प्रतिशत र श्री इन्भेष्टमेन्टको ३.७५ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया