शिक्षक आन्दोलनको असर : कक्षा १२ को परीक्षा स्थगित, शिक्षामन्त्रीको राजीनामा


काठमाडौं । शिक्षक आन्दोलन चुलिँदै जाँदा पर्सि (वैशाख ११) गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा बोर्डले सारेको छ ।

विगत २१ दिनदेखि देशका विभिन्न ठाउँहरुबाट विद्यालय शिक्षा ऐनको माग गर्दै राजधानीमा एकीकृत भएका शिक्षकहरुले आन्दोलन गरिरहेका छन् । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सञ्चालनमा कठिनाइ हुने देखिएपछि अन्ततः परीक्षा बोर्डले वैशाख ११ देखि हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेका लागि सारेको हो ।

मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेट्न गएका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र सचिव दिपक काफ्लेलाई ओलीले पर्सिदेखि हुने भनिएको परीक्षा सार्न निर्देशन दिएका हुन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु हुने भएको छ । परीक्षा तालिका भोलि प्रकाशन गर्ने तयारी रहेको शर्माले बताए ।

शिक्षकहरु सडकमा आन्दोलनरत रहिरहनु र नयाँ पाठन सत्र सुचारु हुन नसक्दा देशको शिक्षा प्रणाली नै अस्तव्यस्त बनिसकेको छ । यसैबीच मंगलबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । आफ्नै नेतृत्वको पार्टी सभापति प्रधानमन्त्री भएको समयमा समेत शिक्षामन्त्रीले राजीनामा दिएपछि सरकारभित्रको शिक्षा नीति सम्बन्धी मतभेद प्रष्ट देखिएको छ ।

प्रकाशित मिति: ९ वैशाख २०८२, मंगलबार  २१ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।