काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि उच्चस्तरीय समितिले तोकेको मिति बैशाख ९ गते (२२ अप्रिल २०२५) राति ११ः५९ सम्म संघको वेबपोर्टलमार्फत डेलिगेट बन्न ३ हजार १८१ जनाले आवेदन दिएको समितिले जनाएको छ ।
समयभित्र प्राप्त सबै आवेदनको हाल समीक्षा प्रक्रिया तीव्र गतिमा जारी रहेको समितिद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । ‘प्रारम्भिक जाँचका क्रममा कुनै आवेदकको कागजात अपूर्ण वा अस्पष्ट भेटिएमा २४ घण्टाभित्र आवश्यक प्रमाण पेश गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिनेछ । समयमै प्रमाण नपुगेकोमा सो आवेदन स्वतः अमान्य हुने स्पष्ट पारिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
समितिले सम्पूर्ण प्रमाणीकरण प्रक्रिया वैशाख १३ गते (२५ अप्रिल २०२५) भित्रमा सम्पन्न गर्ने तयारी गरिरहेको पनि जनाएको छ । आवेदन दर्ता गरिसकेका र डेलिगेट्स शुल्कस्वरूप १०० अमेरिकी डलर बुझाइसकेका आवेदकहरूलाई उक्त रकम जम्मा गरेको प्रमाण तुरुन्त पठाउन पनि समितिले अनुरोध गरेको छ ।
प्रमाणिकरण भई शुल्क तिरेका डेलिगेटहरूले मात्र महाधिवेशनमा भाग लिन तथा उम्मेदवारी दिन पाउने समितिले प्रष्ट पारेको छ । एकता महाधिवेशनप्रति देखिएको अभूतपूर्व चासो, सहभागिता र समर्थनप्रति संघले आभार प्रकट गरेको छ ।
महाधिवेशनको मिति र कार्यक्रमबारे थप जानकारी आगामी दिनहरूमा सार्वजनिक गरिने पनि समितिले जनाएको छ ।
प्रतिक्रिया