राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।

कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् ।

दुई अर्ब ५० करोड रुपैयाँ बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ ।

यस्तै, ४० प्रतिशतले हुने एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्काशन हुनेछ । त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

कूल नौ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ । सो बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैैंकको अधिकृत पूँजी ३० अर्ब रुपैयाँ , जारी पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ र चुक्ता पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ बराबर छ ।

प्रकाशित मिति: १२ वैशाख २०८२, शुक्रबार  ०८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।