नेपाल मैदा उद्योग संघ र भारतका एग्रीवाच कम्पनी बिच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श शेवाहरु प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भन्डारीको उपस्थितिमा यस्तो सम्झौता भएको हो ।
भु-उपग्रहको प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यो सम्झौता भएको संघले जनाएको छ । वैज्ञानिक आधारमा बालीको तथ्यांक, किसानहरूको समस्याको गहिरो बुझाइ, र लक्षित समाधानहरू लागू गरेर, नेपालले आगामी तीन वर्षभित्र गहुँमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने सम्भावना रहेको संघले जनाएको छ । यसका लागि सरकार र सबै सरोकारवालाहरूको निरन्तर बलियो समर्थन र सहकार्य अत्यन्त आवश्यक हुने उसको भनाई छ ।
सम्झौताले कृषि बजार सूचना र विश्लेषणबाट कृषक र व्यापारीलाई निर्णय लिन सहयोग पुर्याउने बताइएको छ । कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरूबाट उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरूमा टेवा पुग्ने अपेक्षा छ । बीउ, मल, र अन्य कृषि निवेशको अध्ययन र सल्लाहले कृषकहरूलाई उपयुक्त वालि छनोट गर्न मद्दत गर्ने संघको भनाई छ । “डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र बजार जडान सेवाहरू प्रदान गरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ । जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउन पर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ,” संघले भनेको छ । एग्रीवाचले कृषि सम्बन्धी ताजा समाचार, वस्तु मुल्यहरू, र बजार रिपोर्टहरू प्रकाशित गर्दा कृषक र अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी पाउन सहज हुने संघको अपेक्षा छ ।
प्रतिक्रिया