माछापुच्छ्रे बैंक र सि.बि.एल. मनी ट्रान्सफर बीच रेमिट्यान्स सम्झौता


माछापुच्छ्रे बैंकले मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरसँग रेमिट्यान्स सेवा प्रवाह गर्ने औपचारिक सम्झौता गरेको छ ।

माछापुच्छ्रे बैंक लि. ले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरसँग सहकार्य गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार बैशाख १५ गते सोमबारदेखि विधिवत रुपमा रेमिटेन्स सेवाको सुरुवात भएको छ ।

रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा सि.बि.एल. मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पछि अब मलेसियामा रहेका नेपालीहरुले मलेसिया स्थित सि.बि.एल. मनी ट्रान्सफरका १५ वटा शाखा, र सि.बि.एल. मनी ट्रान्सफरको सिटी रेमिट एप बाट एमबिएल रेमिट गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार रुपैयाँ भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

साथै सि.बि.एल. मनी ट्रान्सफर र सिटी रेमिट एपबाट एमबिएल रेमिट गरि पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मलेसियामा रहेका नेपाली कामदारहरूको सुबिधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप (एमबिएल एम स्मार्ट) सेवा पनि उपलब्ध गराएकोछ ।

बैंकले १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाखभन्दा बढि सेवाग्राहीलाई बंैकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: १५ वैशाख २०८२, सोमबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।