गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि तयारी थालेको छ ।
बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए । नवलपुर र तनहुँमा बजेट पूर्वतयारी छलफल भइसकेको उनको भनाइ छ ।
‘निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञसँग पनि बजेट निर्माणबारे छलफल भइरहेको छ,’ महाशाखा प्रमुख रिज्यालले भने, ‘आगामी जेठ १ देखि ११ गतेसम्म विषयगत मन्त्रालयसँग छलफल गर्दैछौँ ।’ बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकार भएका पक्षहरुको अपेक्षा र रायसुझाव लिइएको उनले बताए ।
छलफलका क्रममा स्थानीय तहहरुले बजेट समावेशी र प्रभावकारी बनाउन सुझाव दिएको उनको भनाइ छ । ‘बजेट निर्माणको प्रक्रियालाई सहभागितामूलक बनाउन पूर्वतयारी छलफलले मन्त्रालयलाई महत्वपूर्ण सहयोग पुगेको छ,’ उनले भने ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने देखिएको उनको भनाइ छ । समानीकरण अनुदानमा भएको कटौती र राजश्व खुम्चँदा बजेट घट्ने भएको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका लागि २९ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट ‘सिलिङ’ तोकिएको महाशाखा प्रमुख रिज्यालले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया