समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला


दाङ । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको २ वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताएकी छन् ।

उनले भने, ‘९ कट्ठा जमिन भाडामा ल्याएर आलु र प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, २ वटा टनेल बनाएर खेती गरेका छौँ, कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।’ सोही कार्यालयले २० जनालाई २० हजार रुपैयाँका दरले बीउपुँजी सहयोग गरेको उनले बताएकी छन् ।

‘समूहमा आबद्ध भएपछि सरकारी कार्यालयमा के के कार्यक्रम आउछन्, त्यसका बारेमा जानकारी हुने गरेको छ,’ उनले भनिन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बंगुरपालनका लागि खोर बनाउन १० लाख रुपैयाँ बजेट सहयोग गरेको उनले बताएकी छन् ।

जनचेतना महिला कृषक समूहका अध्यक्ष देउकुमारी चौधरीले वित्तिय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउन जानेको बताइन् । उनले भनेकी छन्, ‘सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।’

घोराही–१२ का नन्दा योगीले मौरीपालन तालिम लिएर मौरी पाल्न सुरु गरेकी छन् । मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै ५ घार मौरी दिएको थियोे । मौरीपालन तालिमपछि व्यावसायिक रुपमा पालन सुरु गरेको उनले बताइन् । अहिले उनीसँग १० घार मौरी छन् । उनका अनुसार करिब ८६ किलो मह उत्पादन भएको र सबै बिक्री भएको थियोे । ५०० देखि ६०० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको उनले बताइन् । गाईबस्तु पालेकोभन्दा सजिलो हुने भएर यो काम राम्रो लागेको उनले बताएकी छन् । उनका अनुसार तालिमपछि क्षमता विकास र वित्तीय साक्षरता पनि भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी उर्मिला चौधरी पूर्वकमलरी हुन् । उनी प्रगति पशुपालन महिला समूहको अध्यक्ष बनेकी छन् । समूहमा आबद्ध भएपछि उनले च्याउखेतीको तालिम लिएकी छन् । उनले समूहमा आबद्ध भएपछि ३० हजार रुपैयाँ घुम्ती कोषबाट पैसा लिएर च्याउखेती गरिन् । ४०० लोकल कुखुरा र २ हजार ५०० गिरीराज कुखुरापालन गरेर प्रशस्त आम्दानी गरेको उनले बताइन् । समूहले आम्मनिर्भर बनाएकाले यसैलाई निरन्तरता दिने उनले बताइन् । उनीहरुको ३० जनाको समूह छ । उनका अनुसार घुम्ती कोषको पैसा १ वर्षमा साँवामात्रै फिर्ता गर्नुपर्छ ब्याज लाग्दैन ।

घोराहीका उपप्रमुख हुमा डिसीले मुक्तकमलरीसँग सहकार्य गरेर काम गरेको बताइन् । ‘विभिन्न तालिम दिएर काम गरेका छौँ,’ उनले भनिन् । पालिकाभित्र रहेका छाना नभएकालाई मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाहरुले पालिकामा सम्पर्क गर्न उनले आग्रह गरिन् । सीप सिकेकालाई स्वरोजगार बन्न पनि उनले आग्रह गरिन् ।

मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत प्रत्यक्ष ४६५ जनालाई सहयोग गरेको बताइन् । उनले दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ । लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत तथा असहाय रहेको बताइन् । महिलाहरुले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उनले जानकारी दिएकी छन् ।(रासस)

प्रकाशित मिति: १७ वैशाख २०८२, बुधबार  १४ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।