पर्यटकीय गन्तव्यको प्रवर्धन गर्न फोटो यात्रा


गण्डकी । नेपाल फोटो पत्रकार संघ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्धनका लागि फोटो यात्रा अभियान सुरु गरेको छ ।

हरेक गन्तव्यको प्रवद्र्धनका लागि फोटोको विशिष्ट महत्व हुने कुरालाई दृष्टिगत गर्दै फोटो यात्रा अभियान सुरु गरिएको नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए ।

अभियान स्वरुप थालिएको फोटो यात्राका क्रममा संघले होटेल बाराही ग्रुपको सहयोगमा चितवनको मेघौली र कास्कीको पोखरा महानगरपालिका वडा नं. १३ को सहयोगमा उक्त वडाको आर्वास्थित महाप्रभुधामलाई समेटिसकेको उनले बताए ।

अभियानलाई व्यवस्थित एवम् दीर्घकालीन रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ संघले अक्षयकोष स्थापना गरी यसलाई विस्तार गर्ने योजनासमेत अघि बढाएको छ । अध्यक्ष गुरुङ र सदस्य सञ्जय शाक्यले जनही १०/१० हजार रुपैयाँ जम्मा गरी सुरु गरिएको अक्षयकोषको विस्तारका लागि सम्बद्ध सबैसँग आह्वानसमेत गरिएको छ ।

यस अभियानका माध्यमबाट देशका विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा विशिष्ट योगदान पुर्याउने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति: १७ वैशाख २०८२, बुधबार  १४ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।