६ महिनामा २ हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण


कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २ हजार ३८८ पर्यटकले भ्रमण गरेका छन । त्यसमा १ हजार १६० महिला र १ हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको संख्या २ हजार १८१ रहेको छ ।

सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले बताए । उनका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।

कात्तिकमा ३१६, मङसिरमा ३८९, पुसमा ४३२, माघमा २७१, फागुनमा ४६० पर्यटक निकुञ्ज घुमेका छन् । उनका अनुसार साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा निकुञ्जमा ४ हजार ५७४ पर्यटक निकुञ्ज घुमेका थिए । त्यसमा १ हजार ७७० महिला र २ हजार ८०४ पुरुष पर्यटक रहेका थिए ।

आन्तरिक पर्यटक ४ हजार २९४, सार्क मुलुकका पर्यटक १३७ र विदेशी पर्यटक १४३ ले निकुञ्जमा घुमफिर गरेका थिए । वि.सं २०३१ मा स्थापना भएको निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ । थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रुपमा निकुञ्ज परिचित छ ।
दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिंगा पाइन्छ । नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठुलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिंगाको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, बाह्रसिंगा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन् ।

निकुञ्जभित्र रहेका रानी ताल लगायतका अन्य तालमा मगर गोही पाइन्छन् । रैथाने र बसाइ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुंगी पाइन्छन् । निकुञ्जमा १२ प्रजातीका घस्रने वन्यजन्तु, २० प्रजातीका उभयचर, २४ प्रजातीका माछा र ३५ प्रजातीका पुतली पाइन्छन् ।

प्रकाशित मिति: १८ वैशाख २०८२, बिहीबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।