बढ्दो आधुनिकीकरणसँगै त्यसको सिधा असर वस्तुको मूल्य तथा भाउमा परिरहेको छ । मानिसको जीवनशैली जुन रफ्तारमा अघि बढिरहेको छ, त्यति नै मुद्रा अर्थात पैसाको अवमूल्यन भइरहेको छ ।
२ दशक अघि सम्म पनि गाउँ गाउँमा लाग्ने हाट बजारमा एक क्षेत्रका मानिसले उत्पादन गरेका वस्तु तथा सामग्री अर्को क्षेत्रका मानिससँग साटेर जीवन गुजारा गर्ने चलन थियो । अहिले त्यो अवस्था ठीक उल्टो बनिसकेको छ । जे चाहियो पैसा बोक्ने अनि सामान किन्न बजार पस्ने ।
आम नागरिकको आयस्रोत नहुनु, जीवन निर्वाह मै सिमित किसिमले खेतीपाती गर्नु, धेरै भएको अन्नपात तथा वस्तुसँग आफुलाई आवश्यक पर्ने अन्य वस्तु साट्ने त्यस बेलाको चलन थियो । व्यवसायिक काम नहुनु र उत्पादित वस्तुले जीवन गुजारा हुनुले गर्दा वस्तुको भाउ निर्धारण हुन्थेन भने व्यवसायिक कृयाकलाप नहुँदा पैसा देख्न पाउने अवस्था थिएन । जसका कारण उत्पादिन वस्तुको मूल्य खासै थिएन भने पैसाको महत्व ज्यादै थियो । थोरै पैसामा धेरै वस्तु किन्न सकिने अवस्था ३ दशक अघिसम्म थियो । त्यस पछिका दिनमा अवस्था उल्टो हुँदै गएको हो ।
५ दशक अघिको कुरा गर्दा प्रतितोला सुन ८०० रुपैयाँमा किन्न सकिन्थ्यो भन्दा अहिलेको पुस्तालाई पत्यार नलाग्न सक्छ । त्यो समयमा सर्वसाधारणसँग पैसाको अभाव भइरहन्थ्यो भने थोरै पैसामा कुनै वस्तु किन्नु सक्नु ज्यादै ठूलो कुरा हुन्थ्यो ।
गोरखापत्रले २०३१ साल भदौ ९ गते आइतबारका दिन प्रकाशित गरेको सुनको मूल्य सम्बन्धि समाचार अहिलेको पुस्ताले हेर्ने हो भने आश्चर्यमा पर्न सक्छन् । त्यस बेलाको बजार भोगेका हरुलाई भने त्यस बेलाको बस्तु तथा सेवाको मूल्यको कुरा स्मरण मात्र बन्छ ।
२०३१ साल भदौ ९ गते प्रकाशित समाचारमा गोरखापत्रले प्रति तोला छापा नभएको सुनको भाउ एकै पटक २० रुपैयाँले बढेर ८२० रुपैयाँ पुगेको समाचार प्राथमिकताका साथ प्रकाशन गरेको थियो । २०३१ साल भदौ ५ गते बुधबार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापा नभएको सुनको मूल्य ९ गते आइतबार २० रुपैयाँले बढेको थियो । छापावाल सुनको मूल्य भने ८२० रुपैयाँबाट बढेर ८४० रुपैयाँ कायम भएको गोरखापत्रले समाचारमा उल्लेख गरेको छ ।
गोरखापत्रमा प्रकाशित समाचार हेरौं

गोरखापत्रमा यो समाचार प्रकाशन भएको अहिले ५० वर्ष ८ महिना पुरा हुन लागेको छ । यो अवधिमा प्रतितोला सुनको मूल्य २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
अहिले सर्वसाधारणमा मुद्रा अर्थात पैसाको अधिक उपलब्धता हुनु तथा व्यवसायिक कृयाकलाप अनिवार्य जस्तै बनिसकेको अवस्थाले पैसाको अवमूल्यन भएको छ भने वस्तुको मूल्य ठीक उल्टो अर्थात अधिक मूल्य पाउने अवस्था बनेको हो । सुनको मूल्यमा ५१ वर्षको अवधिमा देखिएको सुनको मूल्य अन्तरको मुख्य कारण पनि यही नै हो ।
यसका अलावा विश्व अर्थतन्त्रको चक्र, डलरको मूल्यमा हुने उतारचढाव लगायत कारणले पनि सुनको मूल्यलाई तलमाथि गराइरहेको हुन्छ ।
तर सुनसँगै प्रति माना अथवा अहिले चलनचल्तीमा रहेको लिटर घीउको मूल्यलाई दाँजेर हेर्दा त्यस बेला पैसा कति महँगो थियो र अहिले वस्तु कति महँगो भएको छ भनेर बुझ्न सकिन्छ । त्यस बेला १ रुपैयाँ हाराहारीमा किन्न सकिने प्रतिलिटर घीउ किन्न अहिले १ हजार रुपैयाँ खर्च गर्नुपर्छ ।
फरक के हो भने त्यस बेला १ रुपैयाँ जुटाउन गाह्रो थियो भने अहिले कुनै न कुनै रुपमा मानिसले १ हजार रुपैयाँ जुटाउन सक्छ । त्उस बेला १ लिटर घीउ जुटाउन सहज थियो भने अहिले १ लिटर घीउ जुटाउन त्यति सहज नहुन सक्छ ।
मासु, धान, चामल, गहुँ, मकै, फापर, कोदो जस्ता वस्तु २००० सालको समयमा रुपैयाँ नभई सुका, पैसामा किन्न सकिन्थ्यो ।
अहिले सबैले पैसा तिरेर त्यस्ता वस्तु खरिद गर्ने र उत्पादकहरुको संख्या न्युन हुने भएकाले वस्तुको मूल्य बढेको हो । अहिले सबैले पैसा फलाउँछन्, जसका कारण यसको अवमूल्यन पनि धेरै भइरहेको छ भने वस्तु तथा उत्पादनको मूल्य दिनदिनै बढिरहेको छ ।
प्रतिक्रिया