श्रमिक दिवशमा उद्योग संगठन मोरङद्धारा श्रमिकको सम्मान


विराटनगर । उद्योग संगठन मोरङले १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसरमा श्रमिक सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

विश्वभरका श्रमिकहरूका लागि विशेष मानिने यस दिनको अवसरमा, श्रमिक र रोजगारदाता बीचको सहकार्यलाई प्रोत्साहन गर्दै, सुनसरी–मोरङ औद्योगिक करिडोरको उद्योगमा कार्यरत तीन जना श्रमिकलाई उद्योगमा दीर्घ सेवा पु¥याए वापत सम्मान गरिएको संगठनले जनाएको छ ।

सम्मानित श्रमिकहरूमा रिजाल टांसि ईण्ड प्रा. लि. मा ३५ वर्षदेखि कार्यरत बसन्ती पोखरेल, हुलास मोटर्स प्रा.लि. मा ३१ वर्षदेखि कार्यरत श्याम कुमार कामत र हिमालयन खाद्य एवं प्याकिङ उद्योग लि.मा २८ वर्षदेखि कार्यरत सीता अधिकारी रहेका छन् ।

३ जना श्रमिकहरूलाई संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रोजगारदाता उपाध्यक्ष विपिन कावरा, पूर्व अध्यक्षहरु तथा ट्रेड युनियन प्रदेश कमिटीका अध्यक्षहरूले संयुक्त रूपमा सम्मान–पत्र सहित नगद प्रदान गरी सम्मान गरेका हुन् ।

संगठनका अध्यक्ष सुरानाले उद्योगको उत्पादनशीलता अभिवृद्धि र उद्योगमैत्री वातावरण निर्माणमा श्रमिक र रोजगारदाताको साझा भूमिकाको आवश्यकता औंल्याएका थिए । उनले उद्योगी र श्रमिकबीचको निरन्तर संवाद र सहकार्यले आपसी सम्बन्ध प्रगाढ बनाउने र असल श्रम सम्बन्ध विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले मई दिवसले श्रमिक वर्गलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने भन्दै आर्थिक क्षेत्रका चुनौतीहरू सामना गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संयूक्त ट्रेड युनियन समन्वय समिति कोशी प्रदेशका संयोजक टिका प्रसाईले श्रमिक र रोजगारदाता बीचको सम्बन्धलाई थप नजिक बनाई श्रमिकमा सकारात्मक भावना विकास गर्न सम्मानले महत्वपुर्ण भूमिका देल्ने विश्वास विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति: १८ वैशाख २०८२, बिहीबार  १८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।