विद्यार्थी भिसामा विभिन्न मुलुकमा जाने विद्यार्थी तथा अभिभावकहरु बैंक व्यालेन्स देखाउन बिचौलियाहरुसँग काम गर्ने क्रम बढ्दो छ । यस क्रमम त्यस्ता बिचौलियाहरुले अन्य व्यक्तिहरुलाई पनि बैंक व्यालेन्स देखाई दिने वा बैंक व्यालेन्स देखाउन विभिन्न आश्वासन दिएर रकम लिने क्रम पनि उत्तिकै व्याप्त छ ।
प्रहरीले यसरी नै बैंक व्यालेन्स देखाउन पैसा आवश्यक परेको भन्दै दाखौं रुपैयाँ आफ्नो खातामा जम्मा गरी फरार भएका २ जनालाई पक्राउ गरेको छ । कन्सल्टेन्सी मार्फत विद्यार्थी भिषामा अमेरीका जान एक दिनको लागी बैक ब्यालेन्स देखाउन आफुलाई ६१ लाख रुपैयाँ आवश्यक भएको भनि बहाना बनाई ठगी गरेर भागेका काभ्रेका १ जना र रौतहटका १ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काभ्रेको बनेपा २ स्थायी ठेगाना भइ भक्तपुरको मध्यपुर ठिमीमा बसोबास गर्दै आएका २० वर्षीय विशाल घिमिरे र रौतहटको गरुडा ४ स्थायी ठेगाना भई काठमाण्डौंको सुनधारमा बसोबास गर्दै आएका १८ वर्षीय प्रिन्स कुमारलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाण्डौंको सुनधारबाट पक्राउ गरेको हो ।
विभिन्न प्रलोभन दिए र झुक्याई उनीहरुले ६१ लाख रुपैयाँ आफ्नो खातामा रकम जम्मा गराई तत्कालै अन्यत्र विभिन्न ब्यक्तिहरुको खाताहरुमा सम्पूर्ण रकम रकमान्तरण गराई ठगी गरी सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ । सो घटना पश्चात पिडितले दिएको जाहेरीको आधारमा प्रहरी टोलीले आवश्यक अनुसन्धान गरी उक्त ठगी कार्यमा संलग्न २ जनालाई बैशाख १८ गते काठमाण्डौंको सुनधाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका २ जनालाई ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौं पठाईएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया