काठमाडौँ । वाणिज्य बैंकहरूको लाभांश वितरण क्षमता निकै कमजोर अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यी बैंकहरूले सामान्य रूपमा मुनाफा बढाए पनि वितरणयोग्य मुनाफामा अपेक्षित सुधार गर्न सकेनन् ।
जसकारण उनीहरूको लाभांश वितरण क्षमता निकै कमजोर देखिएको हो । चालु आवको ९ महिनासम्ममा बैंकहरूको वितरणयोग्य नाफा ४ अर्ब ६८ करोड रुपैयाँ मात्रै छ ।
यस अवधिसम्म आधा दर्जन बैंकले लाभांश वितरण गर्न नसक्ने देखिएको छ । किनकि आधा दर्जन बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ । गत आवको चैतसम्ममा १० वटा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेकामा चालु आवको सोही अवधिमा त्यो संख्या घटेर ६ वटामा झरेको छ ।
चालु आवको चैतसम्ममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, एनआइसी एसिया, कुमारी र प्रभु बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ ।
गत आवको तेस्रो त्रैमासमा वितरणयोग्य नाफा ऋणात्मक रहेका माछापुच्छ्रे, लक्ष्मी सनराइज, सिद्धार्थ, ग्लोबल आइएमई, एनएमबी र नेपाल बैंक यसपालि भने धनात्मक बनेका छन् ।
२०८१ चैतसम्ममा बैंकहरूको वितरणयोग्य नाफाको अवस्थामा सुधार भएको हो । सबैभन्दा धेरै वितरणयोग्य नाफा हुनेमा एभरेस्ट बैंक छ । २०८० चैतमा २ अर्ब ७५ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको २०८१ चैतसम्ममा बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
यस्तै गत आवको चैतमा ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा चालु आवमा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
यस्तै गत आवको चैतसम्ममा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ रहेको नबिल बैंकको वितरणयोग्य नाफा चालु आवको सोही अवधिमा २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
सनिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड पुग्दा कृषि विकास बैंकको १ अर्ब ९१ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकको १ अर्ब ७३ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टडको १ अर्ब ४७ करोड रुपैयाँ, नेपाल एसबिआइको १ अर्ब ५ करोड, लक्ष्मी सनराइजको ७७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत् बैंक तथा वित्तीय संस्थाहरूले असल वर्गमा भएको कर्जाको नोक्सानी १.१० प्रतिशतबाट १ प्रतिशतमा झारेको छ ।
सो व्यवस्थाका कारण बैंकहरूको वितरणयोग्य मुनाफामा सुधार आएको हो । यस्तै निर्माण क्षेत्रमा कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणका सुविधाका कारण पनि वितरणयोग्य मुनाफा बढाउन सहयोग मिलेको बैंकरहरू बताउँछन् ।
-
प्रतिसेयर आम्दानीमा को अब्बल ?
चालु आवको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी औसत १५.१ रुपैयाँ छ । गत आवको चैतसम्म वाणिज्य बैंकहरूको यस्तो आम्दानी १५.३९ रुपैयाँ थियो ।
चैत मसान्तसम्म ५ वटा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँभन्दा कम छ । यस अवधिमा एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा बढी ३५.६१ रुपैयाँ छ । यस्तै सबैभन्दा कम प्रतिसेयर आम्दानी एनआइसी एसिया बैंकको १.४१ रुपैयाँ छ ।
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नबिल बैंकको प्रतिसेयर आम्दानी १.८१ रुपैयाँले बढेर २५.०५ रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकको १५.८६ रुपैयाँ प्रतिसेयर आम्दानी हुँदा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १७.७४ रुपैयाँ, नेपाल बैंकको २५.२६ रुपैयाँ, स्ट्यान्डर्ड चार्टड बैंकको २८.८६ रुपैयाँ, एनएमबी बैंकको १७.२३ रुपैयाँ छ ।
यस्तै सानिमा बैंकको १६.३३ रुपैयाँ प्रतिसेयर आम्दानी हुँदा सिद्धार्थको १५.८९ रुपैयाँ, ग्लोबल आइएमईको १५.८६ रुपैयाँ, कृषिको १५.४ रुपैयाँ, प्राइमको १५.३२ रुपैयाँ, नेपाल एसबिआई १४.७२ रुपैयाँ, माछापुच्छ्रेको १२.६५ रुपैयाँ छ ।
प्रभु बैंकको प्रतिसेयर आम्दानी १०.६३ रुपैयाँ हुँदा राष्ट्रिय वाणिज्य बैंकको १०.२७ रुपैयाँ छ । बाँकी ५ वटा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँभन्दा कम छ ।
-
कस्तो छ आरओईको अवस्था ?
गत आवको चैतसम्ममा वाणिज्य बैंकहरूको लगानीमा प्रतिफल (रिटर्न अन इक्विटी–आरओई) ८.३२ प्रतिशत रहेकामा चालु आवको सोही समयमा ७.७३ प्रतिशतमा झरेको छ ।
चैत मसान्तमा सबैभन्दा बढी आरओई एभरेस्ट बैंकको १५.८२ प्रतिशत रहँदा एनआइसी एसिया बैंकको सबैभन्दा कम ०.७१ प्रतिशत छ ।
यस्तै, कुमारी बैंकको १.०८ प्रतिशत आरओई रहँदा हिमालयनको १.८१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.२ प्रतिशत छ । लक्ष्मी बैंकको ५.२८ प्रतिशत, सिटिजन्स बैंकको ५.८ प्रतिशत, कृषि विकास बैंकको ६.८८ प्रतिशत, प्राइम कमर्सियल बैंकको ७.१२ प्रतिशत, प्रभु बैंकको ७.४३ प्रतिशत र सिद्धार्थ बैंंकको ७.८१ प्रतिशत लगानीमा प्रतिफल आउनेछ ।
यस्तै, नबिल बैंकका लगानीकर्ताले ११.३ प्रतिशत प्रतिफल पाउँदा एनएमबीका लगानीकर्ताले १०.४५ प्रतिशत, सानिमा बैंकको १०.३५ प्रतिशत र नेपाल बैंकको आरओई १०.०४ प्रतिशत छ ।
हेर्नुस् रिपोर्टः
प्रतिक्रिया