नीति तथा कार्यक्रममार्फत लगानी जुटाउने प्रयास : सांसद भट्टराई


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले सदनमा प्रस्तुत नीति तथा कार्यक्रम युवालक्षित एवं लगानीमैत्री भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले नीति तथा कार्यक्रममा युवालाई रोजगारी दिने र लगानी गर्नेका लागि उपयुक्त नीतिको सुनिश्चितता गरिएको बताए ।

‘एकीकृत योजना बैंकको व्यवस्था, औद्योगिक, वातावरण र युवाकेन्द्रित नीति तथा कार्यक्रम छन्, कृषि, उद्योग, उत्पादन, पूर्वाधार विकासका निम्ति नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ,’ सांसद भट्टराई भने ।

उनले विश्वका विभिन्न भागमा छरिएर रहेका नेपालीको पुँजीलाई एकीकृत गर्न सकेमा देशको आर्थिक विकासका निम्ति अरुको मुख ताक्नुपर्ने अवस्था नआउने तर्क गरे । ऊर्जा, कृषि, पर्यटनका माध्यमबाट मुलुकको उन्नति हुने उनको अभिमत थियो । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै सांसद भट्टराईले भने, ‘छिमेकी मुलुकलाई विद्युत् बेच्छौँ, सस्तो बेच्ने महँगोमा किन्ने गर्नु हुँदैन,’ यो स्थितिलाई अन्त्य गर्न जरुरी छ ।

प्रकाशित मिति: २३ वैशाख २०८२, मंगलबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।